मंसूर अली इद्रिशी
बाँके माघ १३ गते-सशस्त्र प्रहरी बल नेपाल न.३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीले आफ्नो एक वर्षे कार्यकाल कुशलतापूर्वक पूरा गर्दै नियमित प्रक्रियामा सरुवा भएका छन्। उनको कार्यकाल स्थानीयस्तरमा प्रशंसनीय मानिएको छ। डाँगीको नेतृत्वमा भएका सकारात्मक परिवर्तन र उपलब्धिहरूले उनलाई स्थानीयबासीहरूको नजरमा एक कुशल प्रहरी अधिकारीका रूपमा स्थापित गरेको छ।
सिमा सुरक्षामा कठोरता
जमुनाह भन्सार नाका, जुन मुख्य अन्तर्राष्ट्रिय नाका मानिन्छ, प्रायः अबैध व्यापार र तस्करीको केन्द्रको रूपमा चर्चा हुने गरेको छ। तर, एसपी डाँगीको नेतृत्वमा सिमा सुरक्षामा कडाइ गर्दै तस्करीलाई नियन्त्रण गर्ने काममा ठूलो सफलता मिलेको स्थानीयले बताएका छन्। सुरक्षाका लागि चेकपोस्टहरूको स्थापना, दुवै देशका सुरक्षा अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना, र सुरक्षाका विषयमा गम्भीर कदम चालेर उनले सिमा क्षेत्रमा अनुशासन कायम गरेका थिए।
सामाजिक उत्तरदायित्वमा अग्रसर
एसपी डाँगीले सुरक्षाका काममात्र नभई सामाजिक कार्यहरूमा समेत सक्रिय भूमिका निर्वाह गरेका छन्। शीतलहरको समयमा सिमा क्षेत्रमा रहेका गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडाको व्यवस्था, विद्यालयमा शैक्षिक सामग्री वितरण, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, आरामदायी सीमा नाकामा आवाज जावत गर्ने नागरिकहरूका लागि शौचालय निर्माणजस्ता कार्यले उनले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रमाणित गरेका छन्।
सिमा क्षेत्रमा लागू औषध न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक नाटक प्रदर्शन, र युवाहरूलाई जिम्मेवार नागरिक बन्न प्रेरित गर्न उनले विभिन्न अभियानहरू सञ्चालन गरेका थिए।
राजस्व वृद्धि र तस्करी नियन्त्रण
अबैध रुपमा आयात हुने सामान नियन्त्रण गर्दै राज्यको राजस्व वृद्धि गर्ने दिशामा पनि एसपी डाँगीले विशेष ध्यान दिएका थिए। उनले तस्करीमा संलग्न सामान तत्काल नियन्त्रणमा लिने, भन्सार नियम उल्लङ्घन रोक्ने, र आर्थिक अनियमितता नियन्त्रण गर्ने काममा सक्रियता देखाएका थिए।
सशस्त्र प्रहरी स्रोतका अनुसार, डाँगीको कार्यकालमा सिमा क्षेत्रमा चोरी तस्करीमा उल्लेखनीय कमी आएको छ।
नेतृत्वको चर्चा
एसपी डाँगीको नेतृत्व क्षमता, सक्रियता, र अभिभावकीय शैलीले स्थानियहरूमाझ उनी एक गतिशील र सक्षम अधिकारीको रूपमा परिचित भएका छन्। विभिन्न चुनौतीहरू सामना गर्दै पनि उनले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गरेका थिए।
नियमित सरुवा प्रक्रिया
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयद्वारा नियमित रूपमा गरिने सरुवा प्रक्रियाअनुसार एसपी डाँगीको समेत सरुवा भएको छ। एक वर्षको छोटो समयमै उनले गरेका उल्लेखनीय कार्यहरूले बाँके जिल्लाका नागरिक र सुरक्षाकर्मीहरूबीच सकारात्मक प्रभाव पारेको स्थानीयहरूको भनाइ छ।
उनको नेतृत्वले मात्र सिमा सुरक्षामा सुदृढता ल्याएको छैन, सँगै सामुदायिक सहयोगका क्षेत्रमा पनि गहिरो छाप छोडेको छ। स्थानीयहरूले डाँगीलाई “सहज, सरल र नागरिकमैत्री सुरक्षा अधिकारी” का रूपमा सम्झने बताएका छन्।
सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीको नेतृत्वमा बाँकेको जमुनाह नाका र आसपासको क्षेत्रले सुरक्षामा कडाइ र सामाजिक योगदानमा सुधार अनुभव गर्यो। उनको सरुवासँगै नयाँ नेतृत्वको आगमन भए पनि डाँगीले छोडेको सकारात्मक प्रभाव र कार्यशैली आगामी दिनमा पनि प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।