नेपालगञ्ज माघ ११ गते ।
बाँके जिल्लास्थित दारुल उलूम फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिको अध्यक्षमा रहमान मिया नियुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वदलीय बैठकबाट सर्वसम्मत निर्णय गर्दै मियालाई तीन वर्षको कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो।
पछिल्लो केही वर्षदेखि फैजुन्नबी जामा मस्जिद सञ्चालक समितिमा देखिएको विवादले मुस्लिम समुदायमा असहमति र असन्तुष्टि निम्त्याएको थियो। यसबीच, विभिन्न आरोप–प्रत्यारोपले समुदायलाई विभाजित गर्न थप भूमिका खेलेपछि प्रशासनले विवाद समाधानका लागि सर्वसम्मतिको आधारमा नयाँ समिति गठन गरेको जनाएको छ।
अध्यक्ष मियाका अनुसार, समुदायमा देखिएको असन्तुष्टिलाई समाधान गर्दै आउँदै गरेको रमजान पर्वका लागि आवश्यक व्यवस्थापनमा केन्द्रित हुने नयाँ समितिको मुख्य प्राथमिकता हुनेछ। साथै, मस्जिदको व्यवस्थापनलाई पुनः व्यवस्थित बनाउँदै समुदायमा विश्वासको वातावरण निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।
जिल्ला प्रशासन कार्यालयले विगतका सञ्चालक समितिहरूले गरेका निर्णय र कार्यप्रति प्रश्न उठेका कारण छानबिन समिति गठन गरेको छ। अध्यक्ष मियाले छानबिन समितिले मस्जिदका सम्पूर्ण आर्थिक र प्रशासनिक गतिविधिको निष्पक्ष अध्ययन गरी निष्कर्षमा पुग्ने जानकारी दिएका छन्।
मस्जिदका चल–अचल सम्पत्तिको व्यवस्थापन र समुदायबाट प्राप्त चन्दाको सही प्रयोगसम्बन्धी विषय छानबिनका मुख्य मुद्दा रहेका छन्। “मुस्लिम समुदायबाट प्राप्त चन्दाको सही उपयोगबारे कुनै पनि शंका नहोस् भन्ने हाम्रो प्रयास हुनेछ,” अध्यक्ष मियाले बताए।
फैजुन्नबी जामा मस्जिदमा सदस्यता विवादसमेत उठेको संस्था नवीकरण नगरी सदस्यता वितरण गरिएको भन्दै समुदायका केही व्यक्तिले आपत्ति जनाएका छन्। यस विषयमा पनि छानबिन समितिबाट निष्कर्ष निकालिने मियाले उल्लेख गरे।
नयाँ समितिले समुदायभित्रको विभाजन समाप्त गरी आपसी विश्वासलाई पुनःस्थापित गर्न विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। “धार्मिक संघ–संस्थामा देखिएका विवादहरू सर्वसम्मतिबाट समाधान गर्ने हाम्रो प्रयास हुनेछ,” मियाले भने।
तीन वर्षको कार्यकालभित्र मस्जिदको व्यवस्थापनलाई सुदृढ बनाउँदै विवादरहित वातावरण सिर्जना गर्न नयाँ समितिले काम गर्ने बताएको छ। अध्यक्ष मियाले मुस्लिम समुदायमा देखिएको असन्तुष्टिलाई समाधान गर्दै धार्मिक संस्थाको गरिमा बचाउन सबै पक्षले सहयोग गर्नुपर्ने आग्रह गरेका छन्।