बाँके माघ ९ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाले अत्यधिक चिसो र शीतलहरका कारण नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा तीन दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। माघ ९ गतेदेखि ११ गतेसम्म विद्यालयहरु बन्द हुने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिएका छन्।
चिसोको कारण विद्यालय सञ्चालनमा समस्या देखिएको र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालय बन्द गरिएको हो। महाशाखा प्रमुख थापाले भने, “नगर प्रमुखको आदेशअनुसार बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय लिइएको छ।”
पछिल्लो केही दिनदेखि बाँके जिल्लामा निरन्तर शीतलहर चलिरहेको छ। चिसोले जनजीवनलाई अत्यधिक प्रभावित बनाएको छ। बिहान र साँझको समयमा चिसो हावासँगै बाक्लो कुहिरो लाग्ने भएकाले नागरिकको दैनिकी कष्टकर बनेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा र बिरामीहरु चिसोका कारण बढी प्रभावित भएका छन्।
शीतलहरका कारण पठनपाठन मात्र नभई अन्य दैनिकी कामकाजमा पनि समस्या देखिएको छ। सार्वजनिक स्थानहरुमा चहलपहल घटेको छ भने धेरैले चिसोबाट बच्न आगो तापेर समय बिताइरहेका छन्। चिसो र शीतलहरका कारण अस्पतालहरुमा बिरामीको संख्यामा पनि वृद्धि भएको छ।
स्थानीय प्रशासन र नगरपालिकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। उपमहानगरपालिकाको यो निर्णयले बालबालिकाको स्वास्थ्य र सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। नगरपालिकाले चिसोको अवस्था सुधार भएपछि पठनपाठन पुनः सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।