नेपालगञ्ज माघ ४ गते ।
बाँके जिल्लाको प्रमुख नाका नेपालगञ्जको जमुनाहा र पचपोखरा इच्छारामबाबा नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको छ। स्थानीय स्रोतका अनुसार जमुनाहा इच्छाराम बाबा पचपोखरा नदईगाउँ परसपुर हुँदै व्यापक तस्करी सुरु भएको हो। यी नाकाहरूबाट हुने अबैध सामान ओसारपसारका कारण नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भइरहेको छ।
भारतको रुपैडिहाबाट जमुनाहा इच्छाराम बाबा पचपोखरा सिमानाका बाट राति र दिउँसोको समयमा भित्र्याइने लत्ता कपडा, हार्डवेयर,टायल सामान, इलेक्ट्रोनिक पार्टस्, खाद्यान्न, किराना सामान, कस्मेटिक सामग्री, खेलकूदका सामान, भारतीय सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, माछालगायत ठूला परिमाणका सामानहरू बाइक, इ-रिक्सा, टेम्पो, मोटरसाइकल, साइकल र पैदलमार्फत नेपालगञ्ज भित्र्याइँदै आएको छ।
सीमामा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूमाथि तस्करीलाई खुला रुपमा सञ्चालन गर्न सहयोग पुर्याएको आरोप लागेको छ। स्थानीय बासिन्दाका अनुसार जमुनहा र आसपासका ग्रामीण भेगमा सशस्त्र प्रहरीकै सेटिङमा तस्करी भइरहेको छ। यसका साथै, सामान्य नागरिकले ल्याउने सानो परिमाणका सामग्रीलाई नियन्त्रण गर्ने, तर ठूला तस्करीलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ।
बिगतमा सीमा क्षेत्रको सूचना संकलनका लागि खटाइएका घुमुवा (सादा पोसाकका सशस्त्र प्रहरी) हरूले अबैध कारोबारमा संलग्न रहेको पाइएपछि सशस्त्र प्रहरी बल मुख्यालयले घुमुवालाई हटाउने निर्णय गरेको थियो। तर, अहिले तस्करीका लागि नयाँ रणनीति अपनाइएको छ। तस्करीबाट उठेको रकम बाँके जिल्लामा कार्यरत नाम पाएका सशस्त्र प्रहरी निरीक्षकको मार्फत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मा जमुनाहा आइसिपी गुल्मपति सम्म पुर्याइने गरेको स्थानीय स्रोतले जनाएका छन्।
नेपालगञ्ज भन्सार कार्यालयले तस्करीका कारण ठूलो मात्रामा राजस्व गुमाइरहेको छ। भन्सार छली गरिएका सामान नेपाल प्रहरीले बरामद गरी भन्सार कार्यालयलाई बुझाएको घटनाले पनि सीमा क्षेत्रका नाकाहरूमा खुला तस्करी भइरहेको पुष्टि गर्दछ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मा आइसिपी जमुनहाले तस्करी रोकथाम गर्नुको साटो सशस्त्र प्रहरीले उल्टै स्कटिङ गरेको स्रोतले आरोप लगाएका छन्। सामान्य मानिसहरूलाई सानोतिनो सामग्रीमा रोकावट गर्ने, तर तस्करहरूलाई खुला छोड्ने प्रवृत्तिले स्थानीय स्तरमा असन्तोष बढाएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३० नं. गण बाँकेका एसपी बिमल डागीलाई बदनाम गराउने उद्देश्यले तस्करी खुला गरिएको भन्ने सशस्त्र प्रहरी बल भित्रैको धारणा छ। तर, यस्ता गतिविधिमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्मा आइसिपी जमुनाहा प्रमुखहरूकै मिलोमतो रहेको स्थानीयहरू बताउँछन्।
तस्करीका कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ। जमुनहा र पचपोखरा नाकाबाट भइरहेको तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासन, भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय आवश्यक छ। यसतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुन जरुरी छ।
जमुनहा नाकामा तस्करी रोक्न सशस्त्र प्रहरी बलले आफ्नो भूमिकामा पारदर्शिता ल्याउनुका साथै स्थानीय बासिन्दाको सहयोग र विश्वास जित्नुपर्नेछ। सीमा निगरानीलाई प्रभावकारी बनाउन प्राविधिक उपकरणको प्रयोग, कडा निगरानी र इमानदार नेतृत्व आवश्यक छ।
सम्बन्धित निकायहरूले तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्ने हो भने यसले न केवल राज्यको राजस्व घाटा निम्त्याउनेछ, बरु सीमा क्षेत्रको सुरक्षा अवस्थालाई पनि कमजोर पार्नेछ।