नेपालगञ्ज माघ २ गते ।
बाँके जिल्ला पूर्वी सीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरी बलले निर्माण गरेका शौचालय, खानेपानी ट्याङ्की र प्रतीक्षालयको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले गर्नुभएको छ। सशस्त्र प्रहरी बल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेद्वारा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत दुई लाख रुपैयाँको लागतमा यी संरचना निर्माण गरिएको हो।
डुडुवा गाउँपालिका–१ खडैचामा प्रतीक्षालय र खानेपानी ट्याङ्की तथा नरैनापुर–१ सुइयामा शौचालय र खानेपानी ट्याङ्की निर्माण गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिनुभयो। उहाँका अनुसार सीमा क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज बनाउन र उनीहरूसँगको आपसी सम्बन्ध सुधार गर्न यस्तो संरचना निर्माण गरिएको हो।
कार्यक्रममा बोल्दै मेयर बिष्टले सशस्त्र प्रहरीले शान्ति सुरक्षा कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै सीमा क्षेत्रमा रहेको स्थानीय आवश्यकता सम्बोधन गर्ने यो प्रयास प्रशंसनीय रहेको बताउनुभयो। उहाँले नागरिक र सुरक्षाकर्मीबीचको सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता परियोजनाको आवश्यकता रहेकोमा जोड दिनुभयो।
नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकसँग सम्बन्ध सुधार गर्न सशस्त्र प्रहरी बलले गरेको कार्य सराहनीय रहेको अध्यक्ष शाहले बताए। त्यस्तै, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले सीमा सुरक्षामा सशस्त्र प्रहरीको योगदान अतुलनीय रहेको भन्दै धन्यवाद दिनुभयो।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति राष्ट्रको उपस्थिति झल्कने बताउँदै, सुरक्षासँगै विकासका गतिविधिमा पनि सशस्त्र प्रहरीको भूमिकालाई महत्व दिनुभयो।
कार्यक्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का श्रावस्ती ६२ बटालियनका कमान्डेन्ट अमरेन्द्र कुमार बरुनले नेपाल–भारत सीमामा नियमित समन्वय र बैठक हुँदै आएको जानकारी गराउनुभयो। उहाँले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण गर्न थप सहयोगका लागि आग्रह गर्नुभयो।
सशस्त्र प्रहरी बलद्वारा निर्माण गरिएका यी संरचनाले नेपाल–भारत सीमामा बसोबास गर्ने नागरिकबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाएको एसएसबी कमान्डेन्ट बरुनले बताउनुभयो।
‘बोर्डर एरिया डेभलपमेन्ट प्लान’ कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरीले सीमा क्षेत्रका नागरिकको आवश्यकताअनुसार पूर्वाधार विकास गर्दै आएको छ। सहभागीहरूले सुइया नाकाको यो प्रयासले सीमा क्षेत्रमा स्थायित्व र सहयोगको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।