नेपालगञ्ज माघ २ गते ।
दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह सञ्चालक समितिले मंगलबार आयोजना गरेको तेस्रो पटकको साधारणसभा पनि असफल भएको छ। यसअघि दुई पटकको प्रयास असफल भएपछि नयाँ कार्यसमिति चयन गर्ने उद्देश्यले सर्वसम्मत सहमति वा निर्वाचन प्रक्रियामार्फत समाधान खोज्न साधारणसभा आह्वान गरिएको थियो।
साधारणसभामा सहभागी सदस्यहरूले निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेपछि कामचलाउ समितिका पदाधिकारीहरू रजिष्ट्ररलाई साथमा लिएर सभा स्थलबाट बाहिरिएका थिए। सदस्य सुल्तान खानका अनुसार, समिति नेतृत्वले सहमतिको नाममा जबरजस्ती निर्णय गराउने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।
यसअघि पनि दुई पटकको साधारणसभामा सर्वसम्मत सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरिएको थियो। तर मंगलबारको सभामा सहभागीहरूले संस्थाको विधान विपरीत तानाशाही शैलीमा सहमति गराउने प्रयास भएको आरोप लगाएका छन्।
सहमति नजुटेपछि मुस्लिम समुदायका सदस्यहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष मध्यस्थताको लागि अपिल गरेका छन्। निर्वाचन समिति संयोजक सलीम हल्वाई (बाबु नेता) का अनुसार, तेस्रो साधारणसभाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको दाबी गरिएको छ। तर, संयोजक हल्वाईले चयन भएका सदस्यहरूको नाम भने सार्वजनिक गर्न चाहेका छैनन्।
सञ्चालक समितिको नेतृत्व चयन गर्न लामो समयदेखि प्रयास भइरहे पनि विवाद अझै समाधान भएको छैन। कामचलाउ समितिले निर्वाचन प्रक्रिया थाल्न अस्वीकार गरेपछि सहभागीहरूले तीव्र असन्तोष व्यक्त गरेका छन्।
स्थानीयहरूले यस विवादले मस्जिदको धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिमा नकारात्मक प्रभाव पारेको गुनासो गरेका छन्। संस्थाको विधानअनुसार निष्पक्ष निर्वाचन गराउनुपर्ने दबाब बढिरहेको अवस्थामा कामचलाउ समितिको असफलता र तानाशाही प्रवृत्तिले समस्या अझै जटिल बनाएको छ।
प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा समाधान खोज्ने प्रयास भइरहेको भए पनि समस्या समाधान हुन समय लाग्ने देखिएको छ। मुस्लिम समुदायले निष्पक्ष निर्वाचन वा सर्वसम्मत सहमतिमार्फत स्थायी नेतृत्व चयनको माग गर्दै आएकाले यस घटनाको आगामी परिणामले मुस्लिम समुदायमा महत्वपूर्ण प्रभाव पार्नेछ।