बाँके पुष २७ गते।
जिल्ला अधिकारी कार्यालय, बहराईचको आयोजनामा भारतको रुपैडिहा संयुक्त जाँच चौकीमा भारत-नेपाल सीमा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा दुवै देशका सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले भाग लिएका थिए।
कार्यक्रममा भारतमा आगामी महाकुम्भ मेलाको तयारी र भारतको गणतन्त्र दिवसका अवसरमा हुने कार्यक्रमहरूको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राख्दै छलफल गरियो। साथै, सीमा क्षेत्रमा भइरहेका लागू औषध ओसारपसार, मानव बेचबिखन, वन्यजन्तु र बन पैदावर चोरी तस्करी लगायतका अपराधहरूको रोकथाम र निराकरणका उपायहरूमा पनि ध्यान केन्द्रित गरियो।
कार्यक्रममा नेपालको तर्फबाट बाँके र बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। भारतको तर्फबाट बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारी, भन्सार कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख, सडक कार्यालय, यातायात कार्यालय र वन कार्यालयका प्रमुखहरू तथा अन्य सरकारी कार्यालयका पदाधिकारीहरूको उपस्थिति थियो।
बैठकमा दुवै देशका अधिकारीहरूले सीमा अपराध रोकथामका लागि समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनका लागि विशेष योजना प्रस्तुत गरे। मानव बेचबिखन र लागू औषध तस्करीजस्ता अन्तर्राष्ट्रिय अपराधका घटनाहरूलाई रोक्न सीमा सुरक्षालाई मजबुत बनाउने सहमति गरिएको छ।
त्यसैगरी, वन्यजन्तु र वन पैदावरको अवैध तस्करीलाई रोक्न सुरक्षा निकायहरूबीच सूचनाको आदान-प्रदानलाई चुस्त बनाउन सहमति जनाइएको छ। बैठकमा सीमा क्षेत्रमा सुरक्षालाई थप व्यवस्थित र प्रविधियुक्त बनाउने कुरामा जोड दिइएको थियो। महाकुम्भ मेला र गणतन्त्र दिवसका अवसरमा सम्भावित भीडलाई व्यवस्थापन गर्न र सुरक्षालाई चुस्त बनाउने रणनीतिहरूमा समेत छलफल गरिएको थियो।
कार्यक्रमको अन्त्यमा बहराईच जिल्लाका प्रमुख जिल्ला अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गरे। उनले दुवै देशका अधिकारीहरूलाई सीमा सुरक्षामा सहकार्य र समन्वयका लागि तत्पर रहन आह्वान गरे। कार्यक्रमको समापनमा दुवै देशका अधिकारीहरूले मायाको चिनो आदानप्रदान गरी आपसी मित्रता प्रगाढ बनाएका थिए।
सीमा क्षेत्रको सुरक्षा र अपराध नियन्त्रणका लागि यस्ता बैठकहरू दुवै देशका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ।