नरैनापुर, पुष २५ गते
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण बागेश्वरी हेडक्वाटर बाँकेले सीमावासीसँगको सम्बन्ध सुदृढ गर्न र शिक्षा क्षेत्रलाई प्रोत्साहन गर्न शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार नरैनापुर गाउँपालिका वडा नम्बर ४ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय घोरदौरियामा आयोजित कार्यक्रममा करिब २ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकका बाल बालिकाहरूलाई शिक्षा प्रतिको आकर्षण बढाउन यो पहल गरिएको बताए। उनले सशस्त्र प्रहरी बलले संस्थागत नीतिलाई पालन गर्दै आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको उल्लेख गर्दै मातहतका सुरक्षा अधिकारीहरूलाई राष्ट्रसेवकको भावना जागृत गरी कर्तव्यनिष्ठताका साथ कार्यक्षेत्रमा प्रस्तुत हुन निर्देशन दिएका छन,।
“हामीले सीमावर्ती क्षेत्रमा शान्ति र सुव्यवस्था कायम गर्न मात्र नभई यहाँका जनतालाई आधारभूत आवश्यकतामा टेवा पुर्याउने काम गरिरहेका छौं,” उपरीक्षक डाँगीले भने। “विद्यार्थीहरूलाई शिक्षा प्रति प्रेरित गर्नु हाम्रो प्राथमिकता हो।”
कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद इस्तियाक अहमद शाहले सीमा सुरक्षाका साथै समाजमा शान्ति र सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरे। उनले भने, “सीमा क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्न सशस्त्र प्रहरीको योगदान अत्यन्त महत्वपूर्ण छ। यस प्रकारका कार्यक्रमले समुदाय र प्रहरीबीच सम्बन्धलाई अझै सुदृढ बनाउँछ।”
कार्यक्रममा स्थानीय अभिभावक, विद्यालयका शिक्षक, विद्यार्थी र अन्य समुदायका सदस्यहरूको उपस्थिति थियो। शैक्षिक सामग्री वितरणसँगै सशस्त्र प्रहरी र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो, जसमा विद्यार्थीहरूले सशस्त्र प्रहरीको जिम्मेवारी र गतिविधिबारे जिज्ञासा राखेका थिए।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रका नागरिकसँगको सम्बन्धलाई थप बलियो बनाउन र उनीहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। शिक्षा, स्वास्थ्य र अन्य सामाजिक क्षेत्रमा केन्द्रित यस्ता कार्यक्रमले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
यो कार्यक्रमले विद्यालय र विद्यार्थीलाई आवश्यक सहयोग मात्र प्रदान गरेन, समुदाय र सुरक्षाकर्मीबीच विश्वासको पुल निर्माण गर्न पनि मद्दत गरेको छ।