उढरापुर पुष २४ गते ।
खजुरा गाउँपालिका वडा नंबर ६ स्थित उढरागाउँ नजिक रहेको भानु माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको दिवा खाजाबारे सामाजिक सञ्जालमा केही स्थानीय जनप्रतिनिधिले लगाएका आरोपहरूलाई विद्यालय प्रशासनले निराधार भनेको छ।
विद्यालयका प्रधानाध्यापक हरिप्रसाद श्रेष्ठले विद्यालयमा दिवा खाजामा कुनै अनियमितता नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलाइएका दाबीहरू झुटा भएको बताए। प्रधानाध्यापक श्रेष्ठले भने, “२२ गते विद्यालय सञ्चालन भइरहेका बेला पालिकाबाट सूचना प्राप्त भयो कि पालिकाभित्रका एकजना जेनिट बोर्डिङ स्कुलका शिक्षकको निधन भएको छ। त्यसपछि विद्यालयमा शोक बिदा दिइएको थियो। सोही दिन खाजा बनाउने तयारी भएको अवस्थामा खाजा फालेर भोलिपल्ट २३ गते ताजा खाजा बनाएर विद्यार्थीहरूलाई वितरण गरेका थियौं।”
विद्यालयले कुहिएको खाजा खुवाएको भनी गरिएको दाबी पूर्णतः गलत भएको उनको भनाइ छ। “विद्यार्थीहरूलाई कहिल्यै कुहिएको खाजा खुवाउने स्थिति आउँदैन। हामीले हरेक दिन ताजा र मापदण्ड अनुसारको खाजा उपलब्ध गराउँछौं,” उनले थपे।
दिवा खाजा बनाउने कर्मचारी मिथुन यादवले पनि सामाजिक सञ्जालमा फैलाइएको गलत जानकारीप्रति आपत्ति जनाउँदै भने, “२२ गते खाजा बनाउने क्रममा तयार भएका मटर फालेर २३ गते ताजा खाजा बनाएर विद्यार्थीलाई खुवाएका थियौं। हाम्रो विद्यालयले सधैं स्थानीय सरकारlले तोकिएको मापदण्ड अनुसार दिवा खाजा वितरण गर्दै आएको छ। यस्ता आधारहीन आरोपहरू हामीप्रति अन्याय हुन्।”
विद्यालयका शिक्षक प्रतिनिधि इमरान खानले विद्यालयको नियमित गतिविधिमा कुनै त्रुटि नरहेको उल्लेख गर्दै भने, “हाम्रो विद्यालयले कहिल्यै बिग्रिएको वा अयोग्य खाजा वितरण गर्दैन। सरकारी निर्देशन अनुसार मात्रै खाजा वितरण हुन्छ। विद्यार्थीहरूको स्वास्थ्यप्रति हामी सधैं सचेत छौं।”
विद्यालय प्रशासनले सामाजिक सञ्जालमा फैलाइएका आरोपहरूले विद्यार्थीहरूको हितमा असर पर्ने चेतावनी दिँदै यस्ता आधारहीन दाबी नगर्न सबैलाई आग्रह गरेको छ।
विद्यालयले सामाजिक सञ्जालमा निराधार आरोप लगाउनेहरूमाथि कानुनी कारबाहीको सम्भावना पनि खुला राखेको छ। विद्यार्थीहरूको हितलाई प्राथमिकता दिदैं प्रशासनले भविष्यमा यस्ता गलत प्रचारबाजी रोक्न सबैलाई सहयोग गर्न अपिल गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समसुद्दूहा खाँका अनुसार, “भर्खरै हामी विद्यालयका अभिभावकहरूले निर्वाचित गरेका प्रतिनिधिहरू हौं। यदि विद्यालयले विद्यार्थीहरूमाथि खेलवाड गरेको प्रमाणित हुन्छ भने हामी निष्पक्ष छानबिन गरेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउँछौं। अभिभावकको विश्वासमा आँच आउन दिन सकिँदैन।”
उनले विद्यालयप्रति उठेका प्रश्नहरूको यथार्थ उजागर गर्न मिडिया र समाजलाई सही दृष्टिकोणले हेर्न र आधारहीन आरोप नलगाउन आग्रह गरे। “हामी विद्यार्थीको भविष्यप्रति गम्भीर छौं। विद्यालय प्रशासनले कुनै लापरबाही गरेको पाइएमा त्यसमा कडा कदम चालिनेछ,” खाँले बताए।