मंसूर अली इद्रिशी
जानकी पुष २३ गते-बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर २, जोगागाउँस्थित माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला सम्पन्न गरेको छ। उक्त भेलाबाट सर्वसहमतिका आधारमा चार जना सदस्य चयन गरिएको छ। चयन गरिएका सदस्यहरूमा रज्जव हलवाई, केउला प्रसाद कुर्मी, जलबर्सी कान्दु, र इन्द्रपरी रैदास रहेका छन्।
जानकी वडा नम्बर २ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भएको अभिभावक भेलामा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । वडा नम्बर १ का वडाध्यक्ष मोहम्मद रजा राई विशिष्ट अतिथिको रूपमा सहभागी भएका थिए। कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमारी भण्डारी, सामाजिक विकास संयोजक राम अचल धोबी, शिक्षाप्रेमी द्रोणबहादुर थापा तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि छब्बन खाँले विद्यालयको विकास र गुणस्तरीय शिक्षामा अभिभावकहरूको चासो बढ्दै गएकोमा खुशी व्यक्त गर्दै विद्यालयको स्तरोन्नतिका लागि शिक्षक, अभिभावक, जनप्रतिनिधि, र शिक्षाप्रेमीहरूले थप जिम्मेवारी लिनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयलाई कक्षा १२ सम्म विस्तार गर्न गाउँपालिकाले योजना बनाएको र यसलाई कार्यान्वयन गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक जितबहादुर वर्माका अनुसार विद्यालय व्यवस्थापन समितिको समयावधि समाप्त भएकाले नयाँ समिति गठनका लागि अभिभावक भेलाको आयोजना गरिएको हो। प्रधानाध्यापक वर्माले सर्वसहमतिको आधारमा चार जना सदस्य चयन गर्न सफल अभिभावकहरूप्रति धन्यवाद ज्ञापन गर्दै नयाँ व्यवस्थापन समितिले विद्यालयको विकासमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले व्यवस्थापन समिति चाँडै पूर्णता पाउनेछ हामी विश्वास लिएका छौं ।
कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक कृष्णहरि आचार्यले गर्नुभएको थियो। समापन वक्तव्यमा वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले शिक्षा जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै शिक्षाले समाजलाई उज्यालो बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यालयको भौतिक संरचना, गुणस्तरीय शिक्षा र विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
अभिभावक भेलामा विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, र विद्यार्थीहरूको समग्र विकासप्रति ध्यान केन्द्रित गर्दै व्यापक छलफल भएको थियो। नयाँ व्यवस्थापन समितिले विद्यालयको भौतिक संरचना सुधार, गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि ठोस कदम उठाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको अन्त्यमा वडाध्यक्ष गुप्ताले विद्यालयको विकास र गुणस्तर सुधारका लागि सबैलाई एकजुट भएर काम गर्न आग्रह गर्दै उपस्थित अभिभावक, शिक्षक र जनप्रतिनिधिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।