नेपालगञ्ज पुष २३ गते।
सशस्त्र प्रहरी प्रधान कार्यालयले बाँकेसहित चार जिल्लाका सशस्त्र प्रहरी प्रमुखलाई सम्बन्धित जिल्लामा फिर्ता पठाएको छ। धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरी, मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी बिमल डाँगी र बाराका एसपी सन्तोष बहादुर सिंहलाई आइतबार सम्बन्धित जिल्लामा फिर्ता पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
जनगुनासोका आधारमा मुख्यालयमा झिकाइएका उनीहरूलाई राजस्व संकलनमा आएको कमी र अन्य विषयमा सोधपुछ गरिएको थियो। सोधपुछपछि आचरण सुधार गर्नुपर्ने सुझावसहित उनीहरूलाई पुनः जिम्मेवारी तोकिएको ठाउँमा फिर्ता पठाएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाका एसपी दर्शन गिरी र बाराका एसपी सन्तोष बहादुर सिंहलाई मधेस प्रदेशका डिआईजी कालिदास धौबोजीको निगरानीमा पठाइएको छ। मोरङका एसपी विश्व खड्कालाई एसएसपी मनिष थापाको जिम्मा दिइएको छ भने बाँकेका एसपी बिमल डाँगीलाई लुम्बिनी प्रदेशका डिआईजी प्रदीप कुमार पालको मातहतमा खटाइएको छ।
राजस्व संकलनमा भएको कमी र अन्य प्रशासनिक कार्यशैलीबारे स्पष्टिकरणका लागि मुख्यालयले उनीहरूलाई केही दिनअघि बोलाएको थियो। सोधपुछका क्रममा केही प्रशासनिक कमजोरी देखिएको भन्दै सुधार गर्न निर्देशन दिइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।
स्रोतका अनुसार चारैजना प्रमुखलाई आचरण सुधारको निर्देशन दिँदै सशस्त्र प्रहरीको श्रोत व्यवस्थापन, पारदर्शिता र स्थानीय जनसरोकारको विषयमा थप ध्यान दिन भनिएको छ। यस्तै, राजस्व संकलनमा भएको कमीका कारणमाथि गम्भीर भएर सुधारको योजना बनाउन निर्देशन दिइएको छ।
सशस्त्र प्रहरी प्रधान कार्यालयले यस कदमलाई संगठनभित्र पारदर्शिता र जवाफदेहितालाई अझ सुदृढ बनाउने प्रयासको रूपमा लिएको बताएको छ। तर, प्रमुखहरूको आलोचना र जनगुनासोका विषयलाई गम्भीर रूपमा लिने नीतिअनुसार छानबिन गरिएको हो।
सम्बन्धित जिल्लामा फिर्ता पठाइएका प्रहरी प्रमुखहरूले अब आफ्नो जिम्मेवारीलाई अझ प्रभावकारी ढंगले निर्वाह गर्नुपर्ने सन्देश दिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।