बाँके पुष २१ गते-नरैनापुर गाउँपालिका वडा नम्बर १ स्थित बनिया गाउँका एक सामान्य किसानको घरमा ५ लाख रुपैयाँको विद्युत् बिल आउनुले स्थानीय तहमा ठूलो चासो पैदा गरेको छ। स्थानीय तहसिलदार सेखको घरमा नेपाल विद्युत प्राधिकरणले यस्तो अस्वाभाविक बिल पठाएको हो।
तहसिलदार सेखले आफ्नो घरमा सामान्य विद्युत् मिटर प्रयोग गरे पनि महिनाको ५० हजार रुपैयाँको बिल आएको गुनासो गरेका छन्। उनले यो समस्या समाधानका लागि पटक–पटक प्राधिकरण धाए पनि कुनै सुनुवाइ नभएको बताएका छन्।
यस समस्याप्रति ध्यानाकर्षण गर्दै नेकपा एमाले बाँकेका उपसचिव किशोर थापा शनिबार बनिया गाउँ पुगेका थिए। थापाले समस्या समाधानका लागि सम्बन्धित निकायसँग तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै भने, “सामान्य किसानको घरमा यति धेरै विद्युत् बिल आउनु अस्वाभाविक छ। यो विषयको गहिरो अनुसन्धान गरी समस्या समाधानका लागि म स्वयम् पहल गर्छु।”
थापाले नेपाल विद्युत प्राधिकरणलाई समस्याको छानबिन गरी तत्काल समाधान गर्न आग्रह गरे। साथै, उनले भने, “यदि समस्या समाधान नगर्ने हो भने स्थानीयस्तरमा सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं। कुनै पनि नागरिकले अन्याय सहनु पर्ने छैन।”
स्थानीयहरूले पनि यस घटनालाई गम्भीर रूपमा लिँदै प्राधिकरणलाई तुरुन्तै कदम चाल्नुपर्ने माग गरेका छन्। उनीहरूले भने, “सामान्य किसानलाई यति ठूलो आर्थिक भार थुपार्नु न्यायसंगत होइन। प्राधिकरणले गल्ती सुधार गर्नुपर्छ।”
यो घटनाले प्राधिकरणको कार्यशैलीमाथि प्रश्न उठाएको छ। सामान्य किसानको घरमा अस्वाभाविक बिल आउनुले प्राविधिक समस्या वा अन्य त्रुटि रहेको अनुमान स्थानीयहरूले गरेका छन्।
थापाको पहल र स्थानीयको आवाजले प्राधिकरणलाई दबाब दिने अपेक्षा गरिएको छ। यस विषयमा छिटो समाधान नभए आन्दोलन चर्किने सम्भावना रहेको स्थानीयहरूले चेतावनी दिएका छन्।