जानकी पुष २० गते।
बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १ वडा कार्यालयको आयोजनामा सार्वजनिक सरसफाई अभियान सुरु गरिएको छ। अभियान अन्तर्गत वडा नम्बर १ का पचपोखरा, साईगाउँ, बढैया, र जोगागाउँका सार्वजनिक बाटोमा रहेका अतिक्रमण हटाउने कार्य सम्पन्न भएको छ। पशु चौपाया, घर निर्माण सामग्री तथा अन्य सामाग्रीले सार्वजनिक बाटोमा भएको अतिक्रमण हटाउन वडाध्यक्ष मोहम्मद रजा राईको नेतृत्वमा सरसफाई अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, समाजसेवी, युवा, व्यवसायी, तथा स्वास्थ्यकर्मीको सक्रिय सहभागिता रहेको थियो। स्थानीय प्रहरी चौकीका इन्चार्ज सई लक्ष्मी प्रसाद कँडेलको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल साईगाउँ फारवर्ड बेस इन्चार्ज सई भीम कठायत को नेतृत्वमा सशस्त्र प्रहरीको उपस्थिति पनि रहेको थियो।
वडाध्यक्ष राईले सार्वजनिक बाटोको अतिक्रमण हटाएर स्थानीय बासिन्दाको सहज आवतजावत सुनिश्चित गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले यस्ता अभियानलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। वडाध्यक्ष राईका अनुसार तीन दिनदेखि अभियान जारी रहेको र भोलि सिपरी गाउँमा सरसफाई गरेर कार्यक्रम समापन गर्ने योजना रहेको छ।
स्थानीय बासिन्दाले यस्ता सरसफाई कार्यक्रमले वडाको विकास, सुशासन, र व्यवस्थापनमा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। वडाध्यक्ष राईले अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
यस सरसफाई अभियानले स्थानीय निकाय, सुरक्षा निकाय, र स्थानीय समुदायबीच सहकार्यको राम्रो उदाहरण प्रस्तुत गरेको छ। सार्वजनिक बाटोहरूको व्यवस्थापनले जनजीवनमा सकारात्मक प्रभाव पार्दै समग्र वडाको विकास र समृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।