बाँके पुष १९ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जैसपुर वडा कार्यालयले ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान गरेको छ। शुक्रबार वडा कार्यालयले एक विशेष कार्यक्रमको आयोजना गरी वडाभित्रका ६८ जना जेष्ठ नागरिक महिला, पुरुषलाई सम्मानस्वरूप न्यानो कम्बल वितरण गरेको हो।
कार्यक्रममा वडाध्यक्ष कलीम अहमद जोलाहले जेष्ठ नागरिकहरू हाम्रो जन्मदाता र इतिहासका साक्षी भएको बताउँदै उनीहरूको मनोबल उच्च राख्नका लागि सम्मान गरिएको बताए। उनले जेष्ठ नागरिकहरूको स्वास्थ्यको सुनिश्चितताका लागि वडा कार्यालय सधैं सक्रिय रहेको जानकारी दिए। वडाले जेष्ठ नागरिकलाई समाज र परिवारमा सम्मानका साथ बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पहल गरिरहेको उनले बताए।
जैसपुर वडाले प्रत्येक वर्ष जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण र सम्मान गर्दै आएको छ। यस वर्ष पनि बढ्दो शीतलहरलाई ध्यानमा राख्दै वडाभित्रका ७५ वर्षभन्दा माथिका महिला र पुरुषलाई न्यानो कम्बल वितरण गरिएको हो। जैसपुर वडाका पाँचौँ तहका अधिकृत सलाउदिन अन्सारीका अनुसार जाडो मौसमले सबैभन्दा बढी असर गर्ने जेष्ठ नागरिकलाई विशेष ध्यान दिइएको छ।
कार्यक्रममा जेष्ठ नागरिकहरूले आफूहरूलाई सम्मान गरी मनोबल उच्च राखेकोमा खुसी व्यक्त गरे। वडाले हरेक वर्ष सम्मान कार्यक्रम आयोजना गर्नुका साथै ठूलो राहत भएको जेष्ठ नागरिकहरूको प्रतिक्रिया रहेको छ।
वडाध्यक्ष जोलाहले जेष्ठ नागरिकका लागि सरकारले प्रदान गर्ने भत्ता तथा अन्य सेवा सुविधाहरू समयमै उपलब्ध गराउन वडाले विशेष व्यवस्था गरेको उल्लेख गरे। उनले जेष्ठ नागरिकहरू हाम्रो सम्पत्ति र मार्गदर्शक भएकाले उनीहरूको सम्मान र सेवामा कमी हुन नदिन आफू प्रतिबद्ध रहेको बताए।
वडाको यो प्रयासले जाडोमा जेष्ठ नागरिकलाई न्यानोको अनुभव मात्र गराएको छैन, समाजमा जेष्ठ नागरिकप्रतिको सम्मानलाई समेत सुदृढ बनाएको छ।