बाँके पुष १९ गते ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच महिनादेखि सिटीस्क्यान मेसिन बिग्रिएर सञ्चालनमा आउन नसक्दा सेवाग्राहीले ठूलो समस्या भोगिरहेका छन्। बाँके लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट उपचारका लागि आउने बिरामीहरू सिटीस्क्यान सेवाको अभावमा थप अप्ठ्यारोमा परेका छन्।
चिकित्सकहरूले सिटीस्क्यान गर्न सिफारिस गरेपछि बिरामीलाई बाहिरका निजी क्लिनिक तथा अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको छ। “यहाँ राम्रो उपचार होला भनेर ल्याइएका बिरामीलाई चिकित्सकले सिटीस्क्यान गर्न भने पनि अस्पतालमा मेसिन बिग्रिएकोले बाहिर जानुपर्दा समय र खर्च दुवै बढ्ने गरेको छ,” एक सेवाग्राहीले गुनासो गरे।
भेरी अस्पतालका मेसु डा.सुवेदीका अनुसार सिटीस्क्यान मेसिन बिग्रिएपछि अस्पतालले सम्बन्धित निकायलाई बारम्बार जानकारी गराइसकेको छ। “हामीले मन्त्रालयका उच्च अधिकारी, सांसद, र मन्त्रीलाई पनि यो समस्या बताउँदै आएका छौं। तर, अहिलेसम्म सुनुवाइ भएको छैन,” सुवेदीले भने।
अस्पताल स्रोतका अनुसार सिटीस्क्यान मेसिन बिग्रिएपछि आपतकालीन कक्षमा आउने बिरामीहरूको उपचारमा सबैभन्दा धेरै समस्या भएको छ। गम्भीर अवस्थाका बिरामीलाई तत्काल सिटीस्क्यान आवश्यक पर्ने भए पनि सेवा नपाउँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने स्थिति छ। यसले गर्दा उपचारको समय लम्बिने र कतिपय अवस्थामा बिरामीको ज्यान जोखिममा पर्ने सम्भावना रहेको चिकित्सकहरूको भनाइ छ।
भेरी अस्पतालमा हाल २ सय ४८ वटा बेड सञ्चालनमा छन्। तर, सरकारले यो अस्पताललाई अझै पनि सय बेडको अस्पतालको रूपमा मात्र सुविधा उपलब्ध गराइरहेको छ। यसले गर्दा पूर्वाधार अभावको समस्या थप गहिरिएको छ।
सिटीस्क्यान सेवा सुचारु गर्न नसक्दा अस्पतालमा बिरामीको संख्या घट्दै गएको छ। निजी अस्पताल तथा क्लिनिकले सिटीस्क्यान सेवाका लागि महँगो शुल्क लिने गरेका कारण आर्थिक रूपमा कमजोर बिरामीहरू झनै मर्कामा परेका छन्।
स्थानीय जनप्रतिनिधि, सांसद र मन्त्रीहरूले यस समस्यालाई गम्भीरतापूर्वक लिएर तत्काल समाधान गर्नुपर्ने सेवाग्राहीको माग छ। सरकारी अस्पतालमा यस्ता अत्यावश्यक सेवाहरू उपलब्ध गराउन ध्यान नदिए अस्पतालप्रतिको जनविश्वास घट्न सक्ने नागरिक समाज अगुवाहरूको भनाइ छ।