बाँके पुष १७ गते ।
जानकी गाउँपालिका वडा नं. २ स्थित माध्यमिक विद्यालय, जोगागाउँले पूर्ब प्रधानाध्यापक मो. आलमीन राईको बिदाइ गरेको छ। विद्यालयले आज विशेष कार्यक्रम आयोजना गरी २० वर्ष सेवा अवधि पूरा गर्दै अनिवार्य अवकास प्राप्त गरेका राईको सम्मानको साथ बिदाई विद्यालय परिवारले गरेको हो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जव हलवाईले गरेका थिए। उनले राईको लामो सेवाकाल विद्यालयको गुणस्तर सुधार, भौतिक संरचनाको विकास, र सामुदायिक शिक्षामा आधारित रहेको बताउँदै उनको योगदानको उच्च प्रशंसा गरे। “मो. आलमीन राईले विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अग्रणी संस्थाको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्,” हलवाईले भने।
शिक्षक, विद्यार्थी, अभिभावक, र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा सहभागीहरूले राईको योगदानको प्रशंसा गर्दै उनको आगामी जीवन सुखद र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरे।
मो. आलमीन राईले आफ्नो बिदाइ मन्तव्यका क्रममा विद्यालयसँगको सम्बन्ध, २० वर्षको अनुभव, र समुदायप्रतिको योगदानलाई स्मरण गर्दै विद्यालय परिवारप्रति आभार व्यक्त गरे। उनले भने, “विद्यालयको उन्नति र विद्यार्थीहरूको भविष्य निर्माणमा सघाउन पाउँदा गर्व महसुस गरेको छु। यो विद्यालय मेरो जीवनको अविस्मरणीय हिस्सा हो।”
विद्यालयका वर्तमान प्रधानाध्यापक जितबहादुर वर्माले सम्मानस्वरूप राईलाई दोसल्ला र स्मृतिचिन्ह प्रदान गरेको थियो। कार्यक्रमका क्रममा शुभकामना मन्तव्य, , र धन्यवाद ज्ञापनलगायतका विविध गतिविधिहरू सम्पन्न भए।
विद्यालय परिवारका अनुसार, मो. आलमीन राईले आफ्नो सेवाकालभर विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सफल भएका थिए। उनको सेवा निवृत्त जीवन सफल, सुखद, र सक्रिय रहोस् भन्ने कामनाका साथ कार्यक्रम समापन गरिएको थियो।