बाँके पुष १६ गते ।
नेपालगञ्ज हुँदै भारततर्फ चरेस तस्करी गर्ने क्रममा पाँच किलोभन्दा बढी चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्। बाँकेको जानकी गाउँपालिका वडा नं. ५ निवासी २६ वर्षीय ज्ञानमान हरिजनलाई भारतको रुपैडिहास्थित सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको हो। प्रहरीले नेपाली युवासँग बरामद भएको चरेसको मूल्य भारतीय रुपैयाँ १ करोड बराबर भएको जनाएको छ ।
विशेष सूचनाका आधारमा एसएसबीको ४२ औं वाहिनीले हरिजनलाई भारतको बाबागन्जतर्फ जाँदै गर्दा नियन्त्रणमा लिएको हो। पक्राउ परेका हरिजनको साथबाट ५.९७८ किलोग्राम चरेस बरामद भएको छ। प्रारम्भिक अनुसन्धानमा हरिजनले उक्त चरेस जानकी गाउँपालिकाका लंगडा र महेश चमारबाट पाएको बताएका छन्। उक्त चरेस भारतको बाबागन्जस्थित किराना व्यवसायी विष्णुसमक्ष पुर्याउन निर्देशन पाएको उनले स्वीकारेका छन्।
एसएसबीले हरिजनको तस्करी गिरोहसँग सम्बन्ध रहेको आशंका गरेको छ। यस घटनाले नेपालगञ्जबाट रुपैडिहा हुँदै भारतमा लागूऔषध तस्करी सक्रिय रहेको पुष्टि भएको छ। पक्राउ परेका हरिजनलाई थप अनुसन्धानका लागि रुपैडिहा प्रहरी चौकीमा बुझाइएको छ।
नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो समय लागूऔषध तस्करीमा वृद्धि भएको छ। सुरक्षाकर्मीका अनुसार सीमा क्षेत्रको भौगोलिक जटिलताका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको छ। तस्करीमा संलग्न मुख्य गिरोह पहिचान गर्न सुरक्षाकर्मीहरूले अनुसन्धान तीव्र पारेका छन्।
यस घटनाले नेपाल-भारत सीमा क्षेत्रमा लागूऔषध तस्करी रोक्न दुवै देशका सुरक्षा निकायलाई सतर्क गराएको छ। सरोकारवालाहरूले तस्करी रोक्न प्रभावकारी रणनीति अपनाउन सुझाव दिएका छन्।