बाँके पुष १६ गते ।
नेपालगन्ज मेडिकल कलेज नर्सिङ होम र दस विगाह कोहलपुरको रातारात नाम अचानक परिवर्तन भएको छ। झण्डै ३० वर्षदेखि सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजको ‘अस्तित्व’ मेटाउँदै अब यसलाई ‘संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.’ नामाकरण गरिएको छ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गत बाँकेको चिसापानी, कोहलपुर र नेपालगन्जमा सञ्चालनमा रहेको नेपालगन्ज मेडिकल कलेजले यसअघि शिक्षण अस्पतालसमेत सञ्चालनमा ल्याएको थियो। तर, अब अस्पतालको नाम रातारात परिवर्तन गरी नयाँ साइन बोर्ड सोमबार बेलुका अस्पतालको मुख्य गेटमा झुण्ड्याइएको छ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू आफ्नो माग सम्बोधनका लागि आन्दोलन गरिरहेका थिए। उनीहरूले तलब वृद्धिसहित विभिन्न माग राख्दै विरोध जनाइरहेका छन्। कर्मचारी र व्यवस्थापन पक्षबीचको विवादको समाधानका लागि पटक–पटक वार्ता भए पनि कुनै निस्कर्ष निस्कन नसक्दा विवाद अदालतसम्म पुगेको छ।
साविकका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले आफ्नो जिम्मेवारी त्यागेर सञ्चालक सदस्यको भूमिकामा बसेपछि विगत ८ महिनादेखि डा. खुमाप्रसाद अर्यालले कलेजको नेतृत्व गरिरहेका छन्। तर, व्यवस्थापन र कर्मचारी पक्षबीचको असमझदारीले कलेजको शैक्षिक तथा सेवाप्रदायक गतिविधिमा असर परेको छ।
कर्मचारीहरूले आफ्नो तलब वृद्धि, सेवा सुविधा, र अन्य माग सम्बोधन गर्न व्यवस्थापन पक्षसँग बारम्बार दबाब दिइरहे पनि वार्ता निष्कर्षविहीन बनेको छ। व्यवस्थापनले कर्मचारीका मागप्रति उदासीनता देखाएको उनीहरूको आरोप छ।
अस्पतालको नाम परिवर्तन र नयाँ व्यवस्थापनले ल्याएको नीति कर्मचारीहरूका लागि अस्वीकार्य भएको बताइएको छ। कर्मचारीहरूको आन्दोलन चर्किंदै गएपछि विवादको समाधान खोज्न अदालतको शरण लिनुपरेको व्यवस्थापन पक्षको भनाइ छ।
नेपालगन्ज मेडिकल कलेज नामकै कारण यहाँको स्वास्थ्य सेवा र शैक्षिक कार्यक्रमप्रति जनताको ठूलो विश्वास थियो। तर, नाम परिवर्तनले अस्पतालको पुरानो छवि गुम्ने र सेवाग्राहीको विश्वास घट्ने स्थानीयको प्रतिक्रिया छ।
यस विवादले अस्पताल र कलेजको नियमित सेवा तथा शैक्षिक क्रियाकलापमा अवरोध पुर्याउने खतरा बढेको छ। अब यो विवाद कसरी समाधान हुन्छ र व्यवस्थापनले कर्मचारीका माग कसरी सम्बोधन गर्छ भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ।