उढरापुर पुष १५ गते।
बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुरस्थित भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति निर्वाचनमा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ। निर्वाचनपछि लिमरा खबरसँगको विशेष संवादमा समितिका सदस्य समसुद्धुहा खाँ (बद्धाम) ले विद्यालयलाई गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधार सुधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
निर्वाचित प्यानलले विद्यालयको आन्तरिक कमजोरी पहिचान गर्दै तिनको समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएको छ। समग्र शैक्षिक सुधारका लागि अभिभावकहरूसँगको सहकार्यलाई अझ सशक्त बनाउने योजना रहेको बताउँदै, प्यानलका प्रतिनिधिहरूले अभिभावकहरूको विश्वासलाई सार्थक बनाउने वाचा गरेका छन्।
“गुणस्तर शिक्षा र समृद्ध विद्यालय हाम्रो प्रमुख उद्देश्य हो,” प्यानलका एक सदस्यले भने। “विद्यालयमा उपलब्ध स्रोत र साधनहरूको अधिकतम उपयोग गर्दै हामी अभिभावकहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउनेछौं। विद्यार्थीहरूको शैक्षिक प्रगतिका लागि विशेष पहल गरिनेछ।”
प्यानलले अभिभावक मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न आफूहरू प्रतिबद्ध रहेको बताए। “हामीले पाएको मतको सम्मान गर्दै विद्यालयमा आवश्यक सुधारका कदम चाल्नेछौं। विद्यालयलाई परिवर्तनको मार्गमा अगाडि बढाउन अभिभावकहरूको सहयोग र विश्वासलाई बलियो आधार मान्दै काम गर्नेछौं,” प्यानलका एक प्रतिनिधिले भने।
भौतिक पूर्वाधारमा सुधार, पाठ्यक्रममा नवीनता र विद्यार्थीहरूको समग्र विकासका लागि कार्ययोजना निर्माण गरी अगाडि बढ्ने लक्ष्य रहेको प्यानलले जनाएको छ। विद्यालयमा पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्य प्यानलको रहेको छ।
स्थानीय अभिभावकहरूले पनि नव-निर्वाचित समिताप्रति आशा व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सकारात्मक पहल हुने अपेक्षा गरेका छन्। विद्यालयलाई क्षेत्रकै नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्न निर्वाचित प्यानलले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्ने घोषणा गरेको छ।
भानु माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनलाई स्थानीयस्तरमा निकै चासोका साथ हेरिएको थियो। नेपाली काँग्रेस प्यानलको यो जितले विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तनको अपेक्षा गरेको अभिभावकहरूको विश्वासलाई थप बलियो बनाएको छ।