बारा पुष १४ गते ।
बाराको जितपुरसिमरा नगरपालिका वडा नंबर १ अमाडरको पुल नजिक मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका कार्यालय सहयोगी (भान्से) राजकुमार रुम्बाको हत्या भएको खुलासा भएको छ। पुस ६ गते फेला परेका रुम्बाको टाउकोमा गोली हानी हत्या गरिएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। रुम्बा जितपुरसिमरा नगरपालिका–१ निवासी हुन् र सिमरा विमानस्थल सुरक्षा प्रहरी गार्ड कार्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।
रुम्बाको शव राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीको नाममा दर्ता भएको बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको गाडीभित्र फेला परेको थियो। अनुसन्धानको क्रममा इन्स्पेक्टर तिवारीको हत्या घटनामा शंकास्पद भूमिका देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले हत्या अनुसन्धानको क्रममा अन्य दुई जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र केही दिनभित्रै अनुसन्धानको निष्कर्ष सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।
यो घटनाले प्रहरीको सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। मृतक रुम्बाको परिवार र स्थानीयवासीले न्यायको माग गरेका छन्। हत्या पछाडिको कारणबारे अहिलेसम्म कुनै ठोस प्रमाण बाहिर नआएको भए पनि पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ भइरहेकाले घटनाको वास्तविकता चाँडै खुल्ने आशा गरिएको छ। प्रहरीले हत्यामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको बताएको छ। यस घटनाले स्थानीय क्षेत्र र प्रहरी विभागमा ठूलो चर्चा र चासोको विषय बनेको छ।