जानकी पुष १३ गते ।
नेपाल भारत सीमा क्षेत्र स्थित पचपोखरीगाउँबाट पाँच बोरा तस्करीको सुर्ती र दुई मोटरसाइकलसहित एक नेपाली तस्कर संजय कुमार लोध पक्राउ परेका छन्। सशस्त्र सीमा बल (एसएसबी) ४२औँ बटालियन पचपोखरी बीओपीको टोलीले सीमाक्षेत्रमा गरिएको गस्तीको क्रममा तस्करीमा संलग्न लोधलाई पक्राउ गरेको हो।
उनी बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १, पचपोकराका बासिन्दा हुन्। गस्ती टोलीले गोप्य सूचनाको आधारमा दुई मोटरसाइकलमा पाँच बोरा सुर्ती लोड गरेर नेपाल तर्फ लैजाँदै गरेका तस्करहरूको गतिविधि देखेपछि रोक्न खोज्दा अन्य केही तस्कर भने भाग्न सफल भएका छन्।
सशस्त्र सीमा बलका अनुसार सीमाक्षेत्रमा हुने तस्करीलाई नियन्त्रण गर्न विशेष गस्ती सञ्चालन भइरहेको छ। यस क्रममा ठूलो परिमाणमा तस्करीका सामग्री नियन्त्रणमा लिने क्रम जारी रहेको छ। पाँच बोरा सुर्ती र दुई मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सशस्त्र सीमा बलले जनाएको छ।
सीमाक्षेत्रमा हुने तस्करीले स्थानीय समाजमा नकारात्मक प्रभाव पार्नसक्ने भन्दै सशस्त्र सीमा बलले तस्करी नियन्त्रणलाई प्राथमिकता दिएको छ। तस्करहरूलाई पक्राउ गर्न विशेष निगरानी र गस्तीलाई अझ कडा पारिएको छ। सो सामानको अनुमानित बजार मूल्य १ लाख २५ हजार भारतीय रुपैयाँ रहेको एसएसबी स्रोतले जनाएको छ।
स्रोतका अनुसार, नेपालगञ्जको आइसिपीमा रहेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्माको मतहतमा पर्ने पश्चिम १ नम्बर पोस्ट, पचपोकराकामा खटिएका ड्युटीको मिलोमतोमा पाँच बोरा सुर्ती नेपाल भित्र्याउने योजना रहेको खुलासा भएको छ।
यस घटनामा संलग्न अन्य तस्करहरू फरार रहेको र उनीहरूको पहिचान तथा पक्राउका लागि खोजी भइरहेको छ। पक्राउ परेका लोध माथि कानूनी प्रक्रिया अघि बढाइने सशस्त्र सीमा बलले जनाएको छ। सीमाक्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिइने बताइएको छ।