जानकी पुष १० गते ।
बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर १, जोगागाउँस्थित जानकी मन्दिरको प्राङ्गणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। प्रहरीप्रति नागरिकका गुनासा, प्रहरीले खेल्नुपर्ने भूमिका, स्थानीय समस्या पहिचान र समाधानका उपाय खोज्न, तथा प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रम सञ्चालन साईंगाउँ प्रहरी चौकीका इन्चार्ज लक्ष्मीप्रसाद कँडेलले गर्नुभएको थियो। प्रमुख अध्यक्ष का रूपमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शिवा थापाको उपस्थिति रहेको थियो। कार्यक्रमको प्रमुख अतिथिका रूपमा जानकी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहम्मद रजा राई अतिथिमा नेपालगञ्ज वडा नम्बर १७ का पूर्व वडा अध्यक्ष अजय कुमार पाठक वडा सदस्य तथा संचारकर्मीको सहभागीता थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष मोहम्मद रजा राईले स्थानीय सरकार र प्रहरी प्रशासनबीच समन्वय गरेर जनताको समस्या समाधान गर्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए। उनले जनताको गुनासा सुन्न र समाधानको उपाय खोज्न यस्तो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
प्रहरी निरीक्षक शिवा थापाले प्रहरी जनताको सुरक्षा, शान्ति, र सुव्यवस्था कायम राख्न सधैं प्रतिबद्ध रहेको बताए। उनले समुदायको सहकार्य बिना दीर्घकालीन समाधान सम्भव नहुने र प्रहरी तथा नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन निरन्तर प्रयास गर्नुपर्ने धारणा राखे।
कार्यक्रमको अन्तरक्रिया सत्रमा सहभागीहरुले विभिन्न समस्याहरु उठाएका थिए। तस्करी नियन्त्रण गर्न, महिला समस्यालाई प्राथमिकतामा राख्न, मातहतका प्रहरी चौकीहरूमा महिला प्रहरी थप गर्नुपर्ने लगायतका माग प्रस्तुत गरिएका थिए। सहभागीले प्रहरी जनशक्तिको अभाव र त्यसले पारेको प्रभावका विषयमा पनि चर्चा गरेका थिए।
नेपालगञ्ज वडा नम्बर १७ का पूर्व वडा अध्यक्ष अजय कुमार पाठकले शान्ति सुरक्षा प्रत्याभूति गर्न सार्वजनिक र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए। साथै, व्यवसायीहरू पनि आफ्नो सुरक्षाको विषयमा सचेत हुनुपर्ने उनको भनाइ थियो।
जवाफ दिने क्रममा प्रहरी निरीक्षक शिवा थापाले उठाइएको प्रत्येक जिज्ञासाको समाधानका लागि प्रहरी प्रशासन तत्पर रहेको र यस किसिमका कार्यक्रमले प्रहरी र समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने बताए।उक्त कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, भद्रभलाद्मी, तथा महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आफ्नो गुनासा, समस्या र सुझाव राख्ने अवसर पाएका थिए।
कार्यक्रमको समापनमा प्रहरी र स्थानीय प्रतिनिधिहरूले जनताको समस्या समाधान गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक शिवा थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।