बाँके, पुस ८ गते ।
समाजवादी युवा संघ बाँकेको आयोजना र डोनर ग्रुप बाँकेको सहकार्यमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जनता समाजवादी पार्टी (जसपा) बाँकेको कार्यालयमा आयोजित गरिएको थियो।रक्तदान कार्यक्रममा पूर्वमन्त्री तथा जसपाका केन्द्रीय महासचिव मोहम्मद इस्तियाक राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले रगतको अभाव कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। प्रमुख अतिथि राईले रक्तदानजस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश दिने भन्दै यस्ता सामाजिक सेवाका कार्यक्रममा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा जसपा बाँकेका अध्यक्ष दुर्गाप्रसाद बर्मा,उपाध्यक्ष जाकिर राई संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लगायत समाजसेवी, युवा नेता ,लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथि राईले समाजको आवश्यकता अनुसार यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
डोनर ग्रुप बाँकेका प्रतिनिधिहरूले रक्तदानको महत्त्व र व्यवस्थापनबारे जानकारी गराएका थिए। कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। समाजवादी युवा संघ बाँकेका अध्यक्ष मोहम्मद अहमद राईले यस्ता कार्यक्रमहरूले युवाहरूलाई सामाजिक सेवामा लाग्न प्रेरित गर्ने र मानवताको भावना जागृत गराउने बताए।
आयोजकका अनुसार यो कार्यक्रमले बाँकेको क्षेत्रका युवालाई सामाजिक उत्तरदायित्वप्रति सचेत गराउनुका साथै रक्तदानको आवश्यकता र महत्त्वबारे जनचेतना फैलाउने उद्देश्य राखेको थियो। कार्यक्रमको समापनमा आयोजकले सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे।