बाँके पुष ७ गते।
नेपालगञ्जमा जमिन मुनिबाट सुन निकाल्ने बहानामा करोडौँ रुपैयाँ ठगी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज-१९ मोहनपुर इँटा भट्टा नजिकैको जमिनमा सुन रहेको भन्दै त्यो निकालिदिने आश्वासनमा स्थानीय नसिर अहमद बेहनासँग पटक–पटक २ करोड रुपैयाँ ठगी गरेको अभियोगमा भारत बलरामपुर सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हल्वाई पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी आयूश जोशीले दिएको जानकारी अनुसार, शुक्रबार दिउँसो नेपालगञ्ज वडा नम्बर ४ बसपार्क नजिकैबाट हल्वाईलाई पक्राउ गरिएको हो। ठगीको घटनाको छानबिनका लागि उनलाई चार दिनको म्याद थप गरिएको जोशीले जनाएको छ।
पक्राउ परेका हल्वाईको साथबाट १ हजार ४९ पहेँलो सिक्का, तीनवटा पित्तलका घैटा, धातुको गणेश मूर्ति, र भारतीय नम्बरको अल्टोकार लगायत विभिन्न सामाग्री बरामद गरिएको छ। प्रारम्भिक अनुसन्धानमा ठगी गर्न ती वस्तुहरूको प्रयोग भएको प्रहरीको भनाइ छ। हल्वाईले स्थानीयलाई झुक्याएर इँटा भट्टाको जमिनमा सुन लुकेको कथा सुनाउँदै विश्वास जित्ने र पैसा असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले हल्वाईमाथी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। प्रहरीले यस्ता ठगी घटनाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।