बाँके पुष ६ गते ।
सीमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले बाँकेको डुडुवा गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। खडैचा पिप्रहवा क्षेत्रमा आयोजित शिविरमा २८८ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि निःशुल्क वितरण गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर, बागेश्वरी बाँकेका अनुसार शिविरमा १५२ जना महिला र १३६ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेले डुडुवा गाउँपालिकाको समन्वय र मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल अस्पतालको सहकार्यमा सञ्चालन गरिएको यो शिविरमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो। सशस्त्र प्रहरी बलका चिकित्सक, स्वास्थ्यकर्मी, र गाउँपालिकाका स्वास्थ्यकर्मीहरूको संयुक्त टोली परिचालन गरेर शिविर सञ्चालन गरिएको थियो।
सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीका अनुसार सशस्त्र प्रहरी बलले सीमावर्ती बासिन्दाको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। उहाँले भन्नुभयो, “यस स्वास्थ्य शिविरले सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनेतर्फ महत्त्वपूर्ण योगदान पुर्याएको छ।”
शिविरमा सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुनको नेतृत्वमा हेल्थ असिस्टेन्टहरू सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए। साथै, डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, वरिष्ठ अहेब प्रदीप शाह, अहेब मनोज कैराती, र प्रदीप ओलीले पनि बिरामीहरूको चेकजाँचमा सहकार्य गरेका थिए।
शिविरमा सहभागीहरूले सामान्य स्वास्थ्य परीक्षण, परामर्श, र औषधि निःशुल्क प्राप्त गरेका थिए। सहभागीहरूको प्रतिक्रिया अनुसार यस्तो शिविरले सीमावर्ती बासिन्दाहरूलाई ठूलो राहत मिलेको छ। सशस्त्र प्रहरीले स्वास्थ्य, शिक्षा, र सामाजिक सुरक्षामा सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ।
डुडुवा गाउँपालिकाका अध्यक्ष र स्वास्थ्यकर्मीहरूले सशस्त्र प्रहरीको यो प्रयासप्रति आभार प्रकट गर्दै यसलाई निरन्तरता दिन सुझाव दिएका छन्। धेरैजसो बिरामीहरूले सामान्य स्वास्थ्य समस्याको उपचार पाए भने केही गम्भीर रोगका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको थियो।
यस प्रकारका शिविरले सीमावर्ती क्षेत्रका बासिन्दाको स्वास्थ्य अवस्था सुधार गर्न र उनीहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।