नेपालगञ्ज पुष ५ गते।
बाँकेको पचपोखरा क्षेत्रबाट पछिल्ला दुई सातादेखि खुलेआम तस्करी भइरहेको तथ्य बाहिर आएको छ। पचपोखरा नाकाबाट कपडा, हार्डवेयर सामग्री, औँठीमा प्रयोग हुने बहुमूल्य रत्नपत्थर र सुन जडीबुटीजन्य महँगो तेल जस्ता वस्तुको तस्करी भइरहेको छ।
हिजो राति जडीबुटी र सुन पचपोखरा नाकाबाट भारततर्फ लैजाने क्रममा, भारतको सीमा नजिकै भारतीय र नेपाली तस्करहरूबीच विवाद हुँदा जडीबुटी तेल र सुन लुटिएको छ। पचपोखरा गाउँका स्थानीयहरूले एक आपसमा कुरा गर्दा यो तस्करीको तथ्य खुलेको हो।
तस्करीको मुख्य मार्ग नेपालगञ्जस्थित आइसिपीको दायाँबायाँ हुँदै पचपोखरा र जयसपुरको इच्छाराम बाबा सिमाना क्षेत्रसम्म फैलिएको छ। यी नाकाबाट दैनिक २० सो लाख रुपैयाँ बराबरको तस्करी भइरहेको छ। यस कार्यमा स्थानीय चर्चित तस्करहरूको संलग्नता रहेको र तिनीहरूले स्थानीय प्रहरी तथा सशस्त्र प्रहरी लाई मासिक रकम बुझाउने गरेको एक जना स्थानीय तस्करले बताएका छन्।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार, पचपोखरा गाउँमा महिनाको चार पटकसम्म जडीबुटीजन्य तेल र महँगो रत्नपत्थर भण्डारण गरिन्छ। तस्करहरूले भण्डारण भएका सामग्रीलाई रातको समयमा सीमाबाट बाहिर पठाउने गरेका छन्। यस नाकाबाट विशेष गरी भारततर्फ ठूला मात्रामा सामग्री पठाइन्छ।
यस विषयमा लिमरा खबरले नेपालगञ्ज आइसिपीमा रहेको सशस्त्र प्रहरी बलका इन्चार्जलाई सम्पर्क गर्दा लिमरा खबरको अफिसियल नम्बरबाट फोन उठाइएको छैन। यसले सशस्त्र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका गणपति बिमल दाँगीले आफ्नो मातहतका अधिकारीहरूलाई तस्करी रोक्न कडा निर्देशन दिएको बताए पनि पचपोखरा र इच्छाराम क्षेत्रबाट व्यापक तस्करी भइरहेको स्थानीय बासिन्दाहरूले आरोप लगाएका छन्।
स्थानीय बासिन्दाहरूका अनुसार, पचपोखरा क्षेत्रका केही व्यक्तिहरू तस्करीमा संलग्न छन्। तिनीहरूले प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुकहरूलाई झुटो तस्करीको सूचना दिएर आफ्नो फाइदा लिँदै गरेको जानकारी लिमरा खबरलाई प्राप्त भएको छ।
तस्करीका कारण कानुनी प्रक्रिया अवलम्बन गरेर व्यवसाय गर्ने व्यापारीहरू समस्यामा परेका छन्। यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नुका साथै सीमावर्ती क्षेत्रको सुरक्षा स्थितिलाई पनि कमजोर बनाएको छ। सरकार र उच्च निकायले यस विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नु अत्यन्त जरुरी छ।