बाँके पुष ४ गते।
सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बागेश्वरी हेडक्वार्टरले सीमा क्षेत्रमा तस्करी न्यूनीकरण र गैरकानुनी गतिविधि नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरेको छ। ३० नम्बर गणका गणपति बिमल डाँगीको निर्देशनमा सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण, राजस्व चुहावट रोकथाम, र गैरकानुनी गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सुरक्षात्मक कदमहरू चालिएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित पैदल गस्तीलाई प्राथमिकता दिएको छ। प्रहरीले सीमामा आफ्नो उपस्थिति थप बलियो बनाउँदै गैरकानुनी गतिविधि रोक्न सुरक्षालाई कडा पारेको छ। यस विशेष अभियानको क्रममा, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित गणेशमान चौकमा भाडाको आटो रिक्सा लाई चेकजाँचबाट कपडा तस्करी भइरहेको भेटिएको थियो।
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले ने १ ह ८५६ नम्बरको रिक्सामा महिला तस्करद्वारा तस्करी गरिएका कपडा बरामद गरेको हो। तस्करीमा संलग्नको पहिचान र अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथी बिशेष अनुसन्धान जारी रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ।
गणेशमान चौकबाट आटो रिक्सामा बरामद गरिएको अवैध सामान भन्सार कार्यालय नेपालगञ्जमा पठाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ। सीमामा तस्करी न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले थप निगरानी र गस्तीलाई प्रभावकारी बनाएको छ। यस अभियानले नेपाल सरकारको राजस्व चुहावट रोक्न र गैरकानुनी क्रियाकलापलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार सीमा क्षेत्रमा सञ्चालन गरिएको यस अभियानले अपराध नियन्त्रणमा मात्र होइन, कानूनी व्यवस्था र शान्ति सुरक्षा कायम गर्न समेत योगदान पुर्याउनेछ। सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिहरूलाई न्यून गर्दै सुरक्षाको स्थिति सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरीको यो कदम थप प्रभावकारी हुँदै जाने विश्वास गरिएको छ।
सशस्त्र प्रहरीको विशेष अभियानले अवैध तस्करी, र अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न सहयोग पुर्याएको छ। यसले सीमावर्ती क्षेत्रको शान्ति सुरक्षा कायम गर्न र जनतालाई सुरक्षित महसुस गराउन महत्त्वपूर्ण प्रभाव पारेको छ।