बाँके पुस १ गते ।
सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटरले संगठनकै नीति निर्देशन विपरीत घुमुवा परिचालन गरेको पाइएको छ। सशस्त्र प्रहरी बल नेपालले घुमुवाहरु परिचालन नगर्न निर्देशन दिएपनि बागेश्वरी हेडक्वाटरले यो निर्देशन उल्लंघन गर्दै घुमुवा परिचालन गरेको हो।
सीमाको सुरक्षाको जिम्मेवारी पाएको ३० नम्बर गणले घुमुवाहरु परिचालन गरी आर्थिक चलखेल गर्ने प्रयास गरेको आरोप लागेको छ। सीमामा तस्करीलाई बढावा दिन मासिक रकम उठाउन घुमुवाको प्रयोग गरिएको एक जना तस्करले बताएका छन्।
बागेश्वरी हेडक्वाटरले सशस्त्र प्रहरी साईं शेर बहादुर केसीको नेतृत्वमा हवलदार गोविन्द खड्कासहित चार जनाको टोली परिचालन गरेको पाइएको छ। प्रत्यक्षदर्शीका अनुसार चौलिका पोस्टमा खटिएका सशस्त्र प्रहरीले बरामद गरेको लेडिज कपडा समेत घुमुवा कमांडर केसीको निर्देशनमा चौलिका पोस्टमा खटिएका सशस्त्रले तस्करलाई फिर्ता गरेको प्रमाण लिमरा खबरसँग सुरक्षित छ।
यो कार्यले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। घुमुवाहरुको परिचालन र तस्करीको अभिवृद्धि भएको विषय अहिले सीमा क्षेत्रमा व्यापक चर्चाको विषय बनेको छ। यस विषयमा स्पष्ट प्रतिक्रिया लिन लिमरा खबरले ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका प्रवक्ता डिएसपी दीपक चन्दसँग सम्पर्क गर्न खोजेको थियो। तर, प्रवक्ता चन्दको मोबाइल नम्बर ९८४९५१६९९६ मा पटक–पटक प्रयास गर्दा पनि फोन उठेन।
सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्यालले चोरी, तस्करी र अवैध कृयाकलाप नियन्त्रण गर्न इमान्दार प्रहरीलाई सीमा क्षेत्रमा पठाउने नीति अवलम्बन गरेका छन्। तर, ३० नम्बर गणले संगठनको यो नीति उल्लंघन गर्दै तस्करी नियन्त्रणभन्दा पनि आर्थिक लाभलाई प्राथमिकता दिएको आरोप लागिरहेको छ।
सीमा क्षेत्रमा हुने तस्करीका गतिविधिहरु रोक्न संगठनले निरन्तर प्रयास गरेपनि केही कर्मचारीको आर्थिक मोहले यो प्रयासलाई कमजोर बनाइरहेको बताइन्छ। विशेषगरी तस्करी नियन्त्रणमा खटिएका सशस्त्र प्रहरीले समेत तस्करीमा सहकार्य गरिरहेको देखिन्छ।
आईजीपी राजु अर्यालले सशस्त्र प्रहरी बललाई जनताको विश्वासिलो संगठनका रुपमा रुपान्तरण गर्न विभिन्न सुधार कार्यक्रम अघि सारेका छन्। तर, केही कर्मचारीका गैरजिम्मेवार कार्य र आर्थिक मोहले संगठनको छविलाई कमजोर बनाइरहेको देखिन्छ। कार्यअवधि सकिने बेला भएकोले सशस्त्र प्रहरी बल ३० नम्बर. गण बागेश्वरीका गणपति एसपी विमल डाँगीलाई केही चम्चेहरुले गणपति डाँगीको छबी बिगार्न तीर लागेको उच्च स्रोतले जनाएको छ ।
घुमुवा परिचालन र तस्करीसँग जोडिएको यो विवादले सशस्त्र प्रहरी बल नेपालप्रति जनताको विश्वासलाई चुनौती दिएको छ। यस्तो कार्यले संगठनको दीर्घकालीन सुधार प्रयासमा नकारात्मक प्रभाव पर्ने सम्भावना छ।
सशस्त्र प्रहरी बल नेपालले संगठनभित्रका कमजोरीहरुमाथि छानबिन गरी आवश्यक सुधार गर्ने अपेक्षा गरिएपनि सीमामा भइरहेको आर्थिक चलखेलले समस्या समाधान गर्न चुनौती खडा गरेको छ। संगठनले सीमा क्षेत्रमा इमान्दार र सक्षम कर्मचारी परिचालन गरी यस्तो गतिविधि रोक्न थप कदम चाल्नु आवश्यक देखिन्छ।