बाँके मंसिर ३० गते ।
नेपालगञ्जको चौलिका चोकमा आइतबार दिउँसो सशस्त्र प्रहरी बल ३० नम्बर गणबाट चौलिका पोस्टमा खटिएका सुरक्षाकर्मीहरूले एक दम्पतीमाथि गरेको कुटपिटले स्थानीयवासी आक्रोशित भएका छन्। रूपैडियाबाट तरकारी किनेर घर फर्कंदै गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७, परसपुरका नन्कु साहु र उनकी श्रीमतीलाई प्रहरीले दुर्व्यवहार गरेको पीडितको आरोप छ।
चौलिका चोकस्थित सशस्त्र प्रहरी पोस्टमा सुरक्षाकर्मीहरूले साहु दम्पतीले घरायसी प्रयोजनका लागि ल्याएको तरकारी खोस्न खोज्दा विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। विवादकै क्रममा सुरक्षाकर्मीले नन्कु साहुको संवेदनशील अंगमा बुटले प्रहार गर्दा उनी अचेत भएर दलेका थिए। साहुको श्रीमतीका अनुसार सुरक्षाकर्मीहरूले गालीगलौज गर्दै उनीहरूले अमानवीय व्यवहार देखाएका थिए। यसै क्रममा साहुलाई गम्भीर घाइते हुने गरी कुटपिट गरिएको आरोप उनले लगाइन्।
घाइते नन्कु साहुको भेरी अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ। घटनापछि वरपरका स्थानीयवासीले सुरक्षाकर्मीको ज्यादतीप्रति कडा विरोध जनाएका थिए। तर, सुरक्षाकर्मीले साहु दम्पतीलाई नियन्त्रणमा लिँदै सशस्त्र प्रहरीको भ्यानमा राखेर लगेका थिए। प्रत्यक्षदर्शीका अनुसार, सुरक्षाकर्मीको ज्यादतीकै कारण स्थानीयवासीमा असन्तोष र आक्रोश छाएको छ।
नन्कु साहु सरल स्वभावका व्यक्ति हुन्, जो आफ्नो बालबच्चा र परिवार पाल्न भिर्कुटी नगरको गणेशमान चौक नजिकै ठेलामा मम्फली बेच्दै आएका छन्। छिमेकीहरूको भनाइ अनुसार, साहु कुनै पनि प्रकारको तस्करीमा संलग्न व्यक्ति होइनन्। उनी सामान्य मेहनत गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका व्यक्तिका रूपमा चिनिन्छन्।
सशस्त्र प्रहरी स्रोतका अनुसार, घाइते साहुलाई भेरी अस्पतालमा लगिएको छ। तर, घटनाबारे सशस्त्र प्रहरीले कुनै पनि थप जानकारी दिन अस्वीकार गरेको छ। घटनापछि सामाजिक सञ्जालमा सुरक्षाकर्मीको अमानवीय व्यवहारको व्यापक विरोध भइरहेको छ।
स्थानीयवासीका अनुसार, चौलिका पोस्टमा सशस्त्र प्रहरीको आँखा अगाडिनै अवैध सामानको तस्करी भइरहेकाले सुरक्षाकर्मीको भूमिका विवादास्पद देखिएको छ। लिमरा खबरले प्राप्त गरेको प्रमाण अनुसार, सशस्त्र प्रहरी बल ३० नम्बर गणले परिचालन गरेको सिभिल टोलीको अगाडि नै ठूलो मात्रामा अवैध सामान बाइकमार्फत तस्करी भइरहेको देखिएको छ।
स्रोतका अनुसार, सर्वसाधारणले घरायसी प्रयोजनका लागि सामान ल्याउँदा सशस्त्र प्रहरीको ध्यान आकर्षित हुने गरेको तर तस्करहरूले खुलेआम सेटिङमा सामान ओसारपसार गर्दा कुनै कारबाही नभएको आरोप लगाएका छन्। सशस्त्र प्रहरीको उपस्थितिमा नै तस्करी सहजै भइरहेको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन्।
यस घटनाले सुरक्षाकर्मीप्रतिको स्थानीयवासीको विश्वास कमजोर बनाएको छ। नागरिकले सुरक्षाकर्मीको अनुशासन र मानव अधिकारको सम्मानबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा दोषी सुरक्षाकर्मीमाथि कारबाहीको माग गर्दै सरकार र सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गर्न दबाब दिइएको छ।
स्थानीयवासीले यस्ता घटनाले सुरक्षाप्रति जनताको विश्वास गुम्ने भन्दै सशस्त्र प्रहरी संगठनभित्र सुधारका पहल गर्नुपर्नेमा जोड दिएका छन्। दोषीमाथि कानुनी कारबाही गर्दै सुरक्षाकर्मीको अनुशासन सुनिश्चित गर्न कडा कदम चाल्नुपर्ने माग स्थानीयस्तरबाट चर्को रूपमा उठिरहेको छ।