बाँके मंसिर २७ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २१, बिर्तागाउँमा मंसिर २३ गते राति ३ बजे नाम गोप्य रहेको एकल महिलामाथि भएको जबरजस्तीको घटनाले स्थानीय स्तरमा विवाद उत्पन्न गरेको छ। एकल महिलाले खेतबारीमा दिशा गर्न गएको बेला वाजिद अली शेखले जबरजस्ती गरेको आरोप लगाएकी हुन। तर, वाजिद अली शेख र उनका समर्थकहरूले यो आरोप झूटा भएको दाबी गरेका छन्।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार यस घटनाको पृष्ठभूमिमा मंसिर २० गते, बिर्तागाउँमा दुई पक्षबीच भएको झैझगडा रहेको छ। वाजिद अली शेखकी श्रीमतीमाथि कुटपिट भएको र यो विवाद लेनदेनको विषयमा केन्द्रित रहेको स्थानीयहरुको भनाइ छ। केही प्रत्यक्षदर्शीले यस घटनामा महिलाले वाजिद अलीमाथि झूटा आरोप लगाएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
वाजिद अली शेखका अनुसार घटना भएको भनिएको रात उनी नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा श्रीमतीको उपचार गराइरहेका थिए। उनीमाथि लगाइएको आरोप निराधार र बदनियतपूर्ण रहेको उनको भनाइ छ। वाजिदका समर्थक अब्दुल वाहिदले पनि यो आरोप झूटा भएको दाबी गरेका छन्।
प्रहरी स्रोतका अनुसार दुवै पक्षले अहिलेसम्म लिखित उजुरी दिएका छैनन्। तर, विवाद समाधानका लागि प्रहरी कार्यालयले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। घटनामा दुवै पक्षबीचको आरोप-प्रत्यारोपका कारण सत्यतथ्य पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको प्रहरी स्रोतको भनाइ छ।
स्थानीय नज्जू खानका अनुसार यो घटना गम्भीर छ र यसको सत्यता छानबिनमार्फत सार्वजनिक हुनुपर्छ। महिलामाथि हुने हिंसालाई गम्भीर रूपमा लिनुका साथै झूटा आरोपका कारण उत्पन्न हुने सामाजिक समस्यालाई पनि ध्यान दिनुपर्ने उनीहरूको माग छ।
यो घटनाले महिलामाथि हुने हिंसाको विषयलाई उजागर गरेसँगै झूटा आरोपका कारण हुन सक्ने सामाजिक असरलाई पनि सतहमा ल्याएको छ। यसैले स्थानीयहरूले प्रहरी प्रशासनलाई निष्पक्ष छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।यो विवादलाई कानुनी रूपमा समाधान गरेर दोषीलाई कारबाही गर्ने र निर्दोषलाई न्याय दिने कार्य प्रशासनले प्रभावकारी रूपमा गर्नु पर्ने देखिन्छ।