बाँके मंसिर २६ गते ।
नेपालगञ्जका मुख्य चौकहरूमा अब ट्राफिक लाइट सञ्चालनमा आएको छ। लामो समयदेखि जडान भएर पनि नचलिरहेको ट्राफिक लाइटले हाल सञ्चालनमा आउँदा सवारी व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ। बाँके ट्राफिक कार्यालयका अनुसार धम्बोजी चौक र पुष्पलाल चौकमा ट्राफिक लाइट बल्न थालेका छन्।
विगत एक वर्षअघि जडान गरिएका यी ट्राफिक लाइटले सञ्चालनमा नआउँदा ट्राफिक व्यवस्थापन हातको इशारामार्फत हुँदै आएको थियो। तर, अब ट्राफिक लाइट सञ्चालनमा आएपछि नेपालगञ्जको व्यस्त सडकमा सवारी आवागमन व्यवस्थित गर्न मद्दत पुग्ने ट्राफिक अधिकारीहरूको धारणा छ।
यस पहललाई तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको योगदान मानिन्छ। मन्त्री राईको विशेष पहलमा नेपालगञ्जमा यी ट्राफिक लाइटहरू जडान गरिएको थियो। बाँके ट्राफिक प्रमुखले भनेका छन्, “ट्राफिक लाइटले सडक जाम कम गर्ने र दुर्घटनाको जोखिम घटाउने विश्वास लिएका छौं।”
स्थानीयवासीहरू पनि यस पहलप्रति सकारात्मक छन्। जानकी गाउँपालिका वडा नम्बर ३ का पासीपुर निवासी राजितराम रैदासका अनुसार ट्राफिक लाइट सञ्चालनले सर्वसाधारणलाई ठूलो राहत दिनेछ। उनले भने, “मुख चौकहरूमा ट्राफिक लाइट बल्न थालेपछि दुर्घटनाको जोखिम न्यून हुने विश्वास छ।”
नेपालगञ्जको बढ्दो सवारी चापलाई मध्यनजर गर्दै ट्राफिक लाइटको सञ्चालन महत्वपूर्ण मानिएको छ। यसले न केवल दुर्घटनाको जोखिम घटाउनेछ, तर सवारी आवागमनलाई समेत प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
अब ट्राफिक लाइट नियमित सञ्चालन गर्न, मर्मतसम्भार सुनिश्चित गर्न र ट्राफिक नियमहरूको पालना गराउन जनचेतना अभिवृद्धि गर्न पनि स्थानीय प्रशासनले सक्रियता देखाउनु पर्ने आवश्यकता छ। नेपालगञ्जका अन्य व्यस्त चौकहरूमा पनि ट्राफिक लाइट जडान र सञ्चालन गरिने योजना रहेको बाँके ट्राफिकले जनाएको छ।