नेपालगञ्ज मसिर २५ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ स्थित माध्यमिक विद्यालय महेन्द्रनगरको व्यवस्थापन समितिको अध्यक्ष पदका लागि कोही पनि इच्छुक नभएको खुलासा भएको छ। विद्यालयका ३०० विद्यार्थीका अभिभावकमध्ये कसैले पनि यो जिम्मेवारी लिन चाहेका छैनन् कार्यवाहक वडाध्यक्ष राकेशकुमार भाटले जानकारी दिएका छन्।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार विद्यालयको व्यवस्थापनमा देखिएको यो समस्या राजनीतिक हस्तक्षेपकै कारण उत्पन्न भएको हो। “विद्यालय शिक्षाको मन्दिर हो, यसलाई राजनीतिकरण गर्नु दुर्भाग्यपूर्ण हो,” एक स्थानीय अभिभावकले भने।
स्थानीय स्रोतका अनुसार, महेन्द्रनगर विद्यालयबाट अध्ययन गरेका धेरै विद्यार्थी हाल सरकारी कार्यालयहरू र विभिन्न संघसंस्थामा जिम्मेवार पदमा कार्यरत छन्। तर, विद्यालयलाई राजनीतिक दाउपेचको अखाडा बनाउने प्रचलनका कारण व्यवस्थापन समितिमा नेतृत्व लिन कोही पनि इच्छुक देखिएका छैनन्।
केही महिना अघि विद्यालयले अभिभावक भेलाको आयोजना गरेको थियो। सो भेला बाट व्यवस्थापन समितिमा दुईजना पुरुष धनीराम चमार, नन्कु साई,सदस्यको मात्रै नाम प्रस्ताव गरिएको थियो। पछि शिक्षा नियमावली विपरीत थप दुईजना महिला सदस्यलाई समावेश गरिएको स्थानीय स्रोतले जनाएको छ।
स्थानीयवासीहरूका अनुसार विद्यालयमा नयाँ शिक्षक नियुक्तिका लागि विज्ञापन (वान्ट) खोल्ने तयारी भइरहेको जानकारी लिमरा खबरलाई प्राप्त भएको छ। तर, व्यवस्थापन समितिमा नेतृत्व नहुँदा नयाँ शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्न कठिनाइ भएको हो। यो स्थिति समाधान गर्नका लागि स्थानीय तहका जनप्रतिनिधिहरू र शिक्षा सम्बन्धी संघसंस्थाहरूले पहल गर्नुपर्ने माग अभिभावकहरूले गरेका छन्।
विद्यालयको शैक्षिक गुणस्तरमा पनि यस समस्याले प्रत्यक्ष असर पारेको छ। “विद्यालयको व्यवस्थापन समिति सक्रिय नहुँदा शिक्षक र विद्यार्थीहरूको तालमेल कमजोर भएको छ, जसले पढाइको गुणस्तर घटाएको छ,” एकजना स्थानीय अभिभावकले बताए।
स्थानीय अभिभावकहरूले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियामा पारदर्शिता र निष्पक्षता हुनुपर्ने माग गरेका छन्। स्थानीय जनप्रतिनिधिले विद्यालयलाई राजनीतिक अखाडा बनाइएको स्थानीय अभिभावकहरूले आरोप लगाएका छन्। नेपालगञ्ज उप-महानगरपालिकाको शिक्षा शाखा र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जले यसमा विशेष निगरानी गर्नुपर्ने स्थानीय अभिभावकरूको भनाइ छ।
विद्यालयका समस्या समाधान गर्न सबै सरोकारवाला निकायहरूबीच सहकार्य र जिम्मेवारीको भावना आवश्यक रहेको स्थानीय अभिभावकको निष्कर्ष छ। “विद्यालयको सुधारले मात्र हाम्रो बालबालिकाको भविष्य सुरक्षित हुन्छ,” एक अभिभावकले जोड दिए।