नेपालगञ्ज मसिर २५ गते ।
लैङ्गिक हिंसा र महिला तथा बालअधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इस्लामी संघ नेपाल बाँकेको सभाहलमा सम्पन्न सो कार्यक्रम निरन नेपाल बाँकेको आयोजनामा भएको हो।
कार्यक्रम निरन नेपाल बाँकेका अध्यक्ष उबेदुर रहमानको अध्यक्षतामा सञ्चालन गरिएको थियो, भने साइनिङ फ्युचर एकेडेमीका प्रधानाध्यापक अब्दुल गफारले कार्यक्रम सञ्चालन गरेका थिए। अब्दुल गफारका अनुसार कार्यक्रमका वक्ताहरूले महिला हिंसा र बालअधिकारको महत्त्व तथा यससँग सम्बन्धित चुनौतीबारे स्पष्ट पारेका थिए। कार्यक्रममा स्थानीय स्तरका विभिन्न धर्मका अगुवाहरू तथा वडा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नेपालगञ्ज वडा नम्बर ११ का वडाध्यक्ष नन्दकिशोर काश्यपले महिला हिंसा र बालअधिकारको संरक्षणका लागि समाजमा व्याप्त भेदभाव अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले भने, “महिला हिंसा र बालअधिकार उल्लङ्घन हाम्रो समाजमा गहिरो समस्याका रूपमा रहेको छ। यसको समाधानका लागि हरेक क्षेत्रबाट मिलेर प्रयास गर्न आवश्यक छ।”
कार्यक्रममा नेपालगञ्ज नगर प्याप्सनका सदस्य रामबहादुरले पनि सम्बोधन गर्दै निरन नेपाल बाँकेको गतिविधिबारे जानकारी गराए। उनले भने, “निरन नेपाल बाँके विभिन्न धार्मिक अगुवाहरूको संस्था हो, जसले समाजमा छुवाछूत तथा महिला हिंसाविरुद्ध काम गर्दै आएको छ। छोराछोरीबीच हुने भेदभाव अन्त्यका लागि हाम्रो प्रयास अझै प्रभावकारी बनाउन जरुरी छ।”
कार्यक्रममा लैङ्गिक हिंसाका घटना, बालअधिकार उल्लङ्घनका घटना र यसको समाधानका उपायहरूबारे गहन छलफल भएको थियो। वक्ताहरूले परिवार, विद्यालय, र समाजका हरेक तहमा चेतना फैलाउनुपर्ने आवश्यकता औँल्याउँदै महिला तथा बालबालिकाको अधिकार संरक्षणका लागि नीति र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रमको समापनका क्रममा निरन नेपाल बाँकेका अध्यक्ष उबेदुर रहमानले लैङ्गिक हिंसा र बालअधिकारको संरक्षणका लागि समाजका हरेक व्यक्तिले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले भने, “महिला हिंसा र बालअधिकारका समस्या समाधान गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ। यस प्रकारका जनचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नेछ।”
स्थानीय समुदायका साथै गौशिया मा.वि.का प्रधानाध्यापक अनिस इद्रीशी, शिक्षक, शिक्षिका, र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा महिला हिंसा र बालअधिकारको विषयमा जनचेतना जगाउन महत्त्वपूर्ण योगदान दिएको आयोजकको विश्वास छ। कार्यक्रमले समाजमा लैङ्गिक समानता र बालअधिकारको संरक्षणप्रति जागरूकता फैलाउने लक्ष्य राखेको थियो।