नेपालगञ्ज मंसिर २४ गते।
बाँके जिल्लामा सवारी दुर्घटनामा उल्लेखनीय कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटनाको घटनामा कमी आएको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार साउनदेखि कात्तिकसम्म सवारी दुर्घटनामा चार महिलासहित २८ जनाले ज्यान गुमाएका छन्।
साउन र भदौ महिनामा ६–६ जनाको मृत्यु भएको थियो भने असोज र कात्तिकमा यो संख्या आठ पुगेको छ। अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा ६० जनाले र ०८०/०८१ मा ६६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। दुर्घटनामा आएको कमीको प्रमुख कारण ट्राफिक नियमको कडाई, जनचेतना अभियान, र सडक सुरक्षाका लागि अपनाइएका विभिन्न उपायहरू रहेको बताइएको छ।
चालू आर्थिक वर्षको चार महिनामा ८८ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसअघिको आर्थिक वर्ष ०७९/०८० मा दुई करोड ६१ लाख ९७ हजार रुपैयाँ र गत वर्ष दुई करोड ४४ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
तथ्यांकअनुसार, मोटरसाइकल कारवाहीबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको चार महिनामा मात्र मोटरसाइकल कारवाहीबाट २७ लाख ६४ हजार रुपैयाँ संकलन गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने, हेल्मेट नलगाउने, र कागजातको अभाव जस्ता कारणले कारवाहीमा परेका सवारी साधनहरूबाट राजस्व संकलनमा वृद्धि भएको हो।
जिल्ला ट्राफिक कार्यालयले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन ट्राफिक नियम उल्लङ्घनमा कडाई गर्दै नयाँ उपायहरू अवलम्बन गर्ने तयारी गरिरहेको छ। प्रहरी निरीक्षक पन्तका अनुसार जनचेतना अभियानलाई अझ प्रभावकारी बनाउँदै सडक सुरक्षामा सुधारका लागि आवश्यक कदम चालिनेछ।
दुर्घटनाको संख्यामा आएको कमी र राजस्व संकलनले बाँके जिल्लामा ट्राफिक व्यवस्थापन सुधारिएको देखिएको छ। तर, स्थानीय प्रशासनले अझै पनि सुधार आवश्यक रहेको बताउँदै ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कडाई गर्नुपर्नेमा जोड दिएको छ।