बाँके, मंसिर २३ गते।
जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षक (असई) मा पदोन्नति भएकाहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। यस अवसरमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुल बहादुर कार्कीको प्रमुख आतिथी रहेको थियो।
कार्यक्रममा एसपी कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आफ्नो जिम्मेवारी निष्ठापूर्वक, अनुशासित र इमान्दार भएर पूरा गर्न निर्देशन दिए। उनले पदोन्नतिले थप जिम्मेवारीका साथ कार्य गर्ने प्रेरणा दिने विश्वास व्यक्त गर्दै संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताए।
पदोन्नति पाएका अधिकृतहरूलाई प्रभावकारी कार्य सम्पादन गर्न कुशलता र क्षमताको प्रदर्शन आवश्यक रहेको उल्लेख गर्दै एसपी कार्कीले पदोन्नतिलाई जिम्मेवारीसँग जोडिएको सम्मानको रूपमा लिइनुपर्ने बताए। उनले प्रहरी सेवामा आफ्नो क्षमतामा निरन्तर सुधार गर्दै जनताको विश्वास जित्न आग्रह गरे।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) आयुष जोशी, अन्य प्रहरी अधिकृतहरू र कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रमले पदोन्नति पाएका अधिकृतहरूको मनोबल उच्च बनाउने विश्वास गरिएको छ।