बाँके मंसिर २२ गते।
डुडुवा गाउँपालिका वडा नं. २ मा जनता समाजवादी पार्टीको वडा समिति पुनर्गठन तथा भेला आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम पार्टीका केन्द्रिय महासचिव तथा पूर्व मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
विशिष्ट अतिथि लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा पार्टीका प्रदेश सह-ईन्चार्ज भण्डारी लाल यादवको उपस्थिति रहेको उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, पार्टीका जिल्ला अध्यक्ष दुर्गा प्रसाद बर्मा, संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी, प्रदेश सदस्य माजिद अली शेष, उपाध्यक्ष जाकिर राई, बुद्धिजीवी संगठन बाँकेका प्रमुख बसन्त कनौजिया, क्षेत्र नं. २ का अध्यक्ष उमेश यादव, पार्टी पालिका अध्यक्ष धिरेन्द्र चौधरी, समाजवादी महिला संघकी जिल्ला उपाध्यक्ष गीता मल्ल तथा लालिमा मल्ल लगायतका नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य वडा समिति पुनर्गठन गर्नुका साथै स्थानीय कार्यकर्ताहरूसँग छलफल गरी पार्टीलाई सुदृढ बनाउने रहेको थियो। नेताहरुले पार्टीको आगामी रणनीतिका विषयमा छलफल गर्दै कार्यकर्तालाई सक्रिय भएर जनताको सेवामा समर्पित हुन आह्वान गरेका थिए।
कार्यक्रम सम्पन्न भएपछि डुडुवा गाउँपालिका वडा नं. २ स्थित नौरीगौढीमा माननीय भण्डारी लाल यादवको संसदीय कोषबाट निर्मित ब्रह्मचारी धर्मशालाको उद्घाटन गरियो। धर्मशालाको उद्घाटन कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
यस अवसरमा वक्ताहरुले धर्मशालाको निर्माणले धार्मिक तथा सामाजिक गतिविधिहरूलाई थप प्रोत्साहन दिने विश्वास व्यक्त गरे। धर्मशाला स्थानीय समुदायका लागि ठूलो योगदान साबित हुने धारणा पनि राखियो।कार्यक्रममा स्थानीय जनताले नेताहरूसँग आफ्ना समस्या र सुझावहरु राख्ने अवसर प्राप्त गरेका थिए। कार्यक्रममा सहभागीहरुले पार्टीको यो पहललाई सकारात्मक रूपमा लिँदै आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न आग्रह गरे।
कार्यक्रम समापनसँगै जनता समाजवादी पार्टीले आफ्नो संगठनात्मक संरचना बलियो बनाउँदै स्थानीय तहमा जनताको विश्वास र समर्थन जुटाउने दिशामा महत्वपूर्ण कदम चालेको छ।