बाँके मंसिर २२ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४, भवनियापुरमा जनता समाजवादी पार्टी (जसपा) ले नयाँ वडा समिति गठन गरेको छ। जसपाका महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईको प्रमुख आतिथ्यतामा राम किशोर गिरीको अध्यक्षतामा ३० सदस्यीय वडा समिति गठन गरिएको हो।
जसपा बाँके जिल्ला संगठन विभाग प्रमुख अतहर हुसेन फारुकीका अनुसार सोही अवसरमा ५० जनाले पार्टीको सदस्यता लिएका छन्। कार्यक्रममा भवनियापुरका वर्तमान वडाध्यक्ष तथा जसपा बाँकेका नेता मजहर अली साईंले नयाँ सदस्यहरूले पार्टीको संगठन विस्तार र जनताको हितमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा जसपाका महासचिव मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश सरकारका कानुनमन्त्री आदेश कुमार अग्रवाल, जसपा बाँकेका नेता तथा कार्यकर्ता, नेपालगञ्ज–१४ का वडाध्यक्ष साईं लगायतको उपस्थिति रहेको थियो। महासचिव राईले पार्टीले स्थानीय तहदेखि संघीय तहसम्म संगठन सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँले नवगठित वडा समितिले जनताको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रदेश र जिल्ला स्तरका नेताहरूले समाजका सबै वर्ग र समुदायलाई पार्टीसँग जोड्ने प्रयासलाई थप सशक्त बनाउनुपर्ने धारणा राखेका थिए। एमाले र माओवादी पार्टीबाट ५० जनाको नयाँ सदस्यतासँगै जसपाले भवनियापुर क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेको छ।
नवनियुक्त वडा समितिका अध्यक्षमा राम किशोर गिरी, उपाध्यक्ष रमजान जोलाह, सचिव धनीराम हरिजन,ले जनताको सेवा र अधिकार सुनिश्चित गर्न सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले नयाँ वडा समितिले ठोस कार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
नेताहरूले संगठन विस्तार र जनसहभागिता सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका छन्। जसपाले बाँकेका अन्य वडाहरूमा पनि यस्तै कार्यक्रममार्फत आफ्नो संगठन विस्तार र जनआस्था अभिवृद्धि गर्दै आएको छ।