बाँके मंसिर २२ गते ।
नेपालगञ्जमा आयोजित दशौं नेपालगञ्ज म्याराथनमा नेपाली सेनाका खड्कबहादुर खड्काले उपाधि जितेका छन्। उनले ४२ दशमलव १९५ किलोमिटरको दौड २ घण्टा १७ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्। खड्काले यस पटक नेपालगञ्ज म्याराथनको कोर्स रेकर्ड समेत तोडेका छन्।
पुरुषतर्फ दोस्रो स्थानमा नेपाली सेनाकै राजन रोकाया रहे भने तेस्रो स्थानमा सुशील कुमार रहे। रोकायाले २ घण्टा १७ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गरे भने सुशीलले २ घण्टा २१ मिनेट ४५ सेकेन्डमा दौड सके। विजेता खड्काले दुई लाख रुपैयाँ नगद प्राप्त गरे भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने क्रमशः एक लाख र पचास हजार रुपैयाँ नगद पुरस्कार पाए। खड्काले यसअघि आठौं स्थानबाट यात्रा सुरु गरेकोमा अहिले दुई पटक च्याम्पियन बन्न पाउँदा खुसी व्यक्त गरे।
महिला हाफ म्याराथनतर्फ सन्तोषी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथोपटक उपाधि जितिन्। उनले १ घण्टा १७ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गरिन्। दोस्रो स्थानमा पुष्पा भण्डारी रहिन्, जसले १ घण्टा १९ मिनेट १२ सेकेन्डमा दौड पूरा गरिन्। विमला कार्कीले तेस्रो स्थान हासिल गरिन्, जसले १ घण्टा ४९ मिनेट १५ सेकेन्डमा दूरी पार गरिन्। उनीहरुले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरे।
यस वर्षको म्याराथनमा पुरुषतर्फ म्याराथन, महिलातर्फ हाफ म्याराथन, ५ किलोमिटर स्कुलस्तरीय छात्र तथा छात्रा दौड, किड्स रन, ५ किलोमिटर कर्पोरेट रन, ५ किलोमिटर ट्राइसाइकल दौड र ५ किलोमिटर वाकाथन लगायतका विधाहरु समावेश गरिएका थिए।
म्याराथन नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट सुरु भई कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तरतर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै सुरुवाती बिन्दुमा समाप्त भएको थियो।
यो म्याराथन हरेक वर्ष मंसिरको पहिलो शनिबार आयोजित हुँदै आएको भए पनि यस वर्ष मंसिर २२ गते आयोजना गरिएको हो। सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताका स्मरणमा यो म्याराथनको आयोजना गरिँदै आएको छ। कार्यक्रमका संस्थापक अध्यक्ष टीएस ठकुरीका अनुसार यस वर्षको संस्करण अत्यन्तै सफल रह्यो।