नेपालगञ्ज, मंसिर २१ गते ।
विश्व शान्ति र मानवताको पक्षमा आवाज उठाउँदै नेपालगञ्जमा “मानवता र फिलिस्तीन सहीदहरुको सम्झनामा” विशेष कार्यक्रम आयोजना गरिने भएको छ। उक्त कार्यक्रम विशेषगरी फिलिस्तीनका शहीद बालबालिका, महिला र पत्रकारहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै विश्वभर शान्ति स्थापनाका लागि प्रार्थना गर्न समर्पित हुनेछ।
कार्यक्रम भोली शनिबार बिहान १० बजे नेपालगञ्जको जडीबुटी कार्यालयको सभाहालमा आयोजना गरिनेछ। नेपाल मुस्लिम शान्ति समाज, एक्टिव यूनियन आर्गेनाइजेशन नेपाल, सद्का पंजतन पाक समिति र ईको नेपाल फाउण्डेशनको संयुक्त पहलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार कार्यक्रममा बाँकेको स्थानीय पालिका प्रमुख, समानुपातिक लुम्बिनी प्रदेश सदस्य विभिन्न धर्म, समुदाय र सामाजिक अगुवाहरूको उपस्थिति रहने छ। कार्यक्रममा शान्ति, एकता र सहिष्णुताको सन्देश प्रवाह गर्न विभिन्न सम्बोधन र मन्तव्य प्रस्तुत गरिनेछ।
यस विशेष कार्यक्रमले युद्ध र हिंसाबाट पीडित विशेषगरी फिलिस्तीनका शहीद बालबालिका, महिला र पत्रकारहरूको सम्मान प्रकट गर्नुका साथै विश्वभर शान्ति स्थापनाको महत्त्वबारे जनचेतना फैलाउने विश्वास लिइएको छ।
आयोजक समितिका प्रतिनिधिहरूले मानवताका लागि शान्ति स्थापना अत्यावश्यक रहेको औँल्याउँदै यो कार्यक्रमले युद्धविरोधी भावना र सह-अस्तित्वको परिकल्पनालाई प्रोत्साहन गर्ने बताए। शान्ति स्थापना अभियानलाई अझ बलियो बनाउन सहयोग गर्ने अपेक्षाका साथ आयोजना गरिएको यो कार्यक्रमले सबै धर्म, जाति र समुदायका व्यक्तिहरूलाई एकजुट गराउने विश्वास आयोजकहरूको रहेको छ।