बाँके मंसिर १६ गते।
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १७ परसपुरमा हात्तीपाइले फाइलेरिया (Lymphatic Filariasis) रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण कार्य सुरु हुने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको आयोजनामा सर्वेक्षण गरिने भएको हो।
सर्वेक्षणको तयारीस्वरूप परसपुर वडामा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रहरी, र पत्रकारलाई लक्षित गरी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। यो कार्यक्रम अन्तर्राष्ट्रिय विकास संघ (IDA) द्वारा सञ्चालित एकीकृत नक्शांकन र रोग प्रतिरोधात्मक व्यवस्थापन अभियानको एक भाग हो।
नेपालगञ्ज उप-महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार, हात्तीपाइले विरुद्धको औषधि सेवन अभियानको प्रभावकारिता मापन र संक्रमण दरको एकिन तथ्याङ्क संकलन गर्न यो सर्वेक्षण गर्न लागिएको हो। परसपुर स्वास्थ्य चौकी प्रमुख दीपा थापा साउदले औषधि सेवन अभियानपछि संक्रमण दर घटेको वा बढेको पत्ता लगाउन सर्वेक्षणले सहयोग गर्ने बताउनुभयो।
हात्तीपाइले रोग मसिनो धागो आकारको उच्चेरिया बाँन्क्रोफ्टी नामक परजीवीबाट लामखुट्टेको टोकाइ मार्फत सर्ने गर्दछ। साउदका अनुसार, “बाहिरबाट सामान्य देखिने व्यक्तिमा समेत परजीवीले भित्री अंगहरूमा दीर्घकालीन क्षति पुर्याउने गर्दछ।”
सर्वेक्षण अन्तर्गत २५ घरपरिवारका १०५ जनाको रगत परीक्षण गरिनेछ। पहिलो चरणमा दिनभर परीक्षण गरिनेछ भने पोजेटिभ देखिएमा राति १० बजेदेखि २ बजेसम्म पुनः परीक्षण गरिनेछ। टेक्निसियन राम बालक यादवका अनुसार, रातिको समयमा रगत निकालेर ल्याबमा जाँच गरिनेछ।
अभिमुखीकरण गोष्ठीमा वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्मा, स्थानीय प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, र पत्रकारहरूको उपस्थिति रहेको थियो। गोष्ठीको उद्देश्य हात्तीपाइले रोग निवारण अभियानप्रति जनचेतना अभिवृद्धि गर्दै सर्वेक्षण कार्यलाई प्रभावकारी बनाउनु रहेको थियो।
राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धी IDA IMPACT SURVEY (IIS-I) कार्यक्रम अन्तर्गत परसपुरमा आयोजित यो अभिमुखीकरण गोष्ठी आइतबार सम्पन्न भएको हो।