नेपालगञ्ज मंसिर १६ गते।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित कम्दीमा ऐतिहासिक हजरत बाबा कम्मर शाहको वार्षिक उर्स मेला पुस ४ गतेदेखि सुरु हुने भएको छ। डुडुवा गाउँपालिकाका वडाध्यक्ष झंकबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय मेला मूल समिति गठन गरिएको छ। मेला पुस ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ।
मेला समितिमा अध्यक्ष झंकबहादुर थापा, उपाध्यक्ष डुडुवा ५ का वडाध्यक्ष सगिर खान, कोषाध्यक्ष गंगा प्रसाद यादव, सचिव राजेश कुमार वर्मा, सहसचिव सहिद खान र अन्य १९ जना सदस्य रहेका छन्। मेलालाई सभ्य र भव्य बनाउन वडाध्यक्ष थापाको नेतृत्वमा विभिन्न उपसमिति गठन गरिएको छ।
मेला समितिका अनुसार पुस ४ गते हुने उद्घाटन कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री मोहम्मद इश्तियाक राई रहनेछन्। मेलाको उद्घाटन समारोह उहाँकै हातबाट गरिनेछ। मेलालाई धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीक मानिन्छ। हिन्दु र मुस्लिम समुदायको साझा धार्मिक आस्थाका रूपमा रहेको यो मेला स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय छ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पुस ८ गते नेपाली लोक सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। मेलामा बाँके, बर्दिया, साथै भारतको रुपैडिहा, नानपारा, श्रावस्ती र लखिमपुर खिरी लगायतका स्थानहरूबाट भक्तजनहरूको सहभागिता रहनेछ।
मेलालाई व्यवस्थित बनाउन डुडुवा–४ का वडाध्यक्ष सगिर खानले स्थानीय बासिन्दाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ। उहाँले मेलालाई सभ्य, सुरक्षित र भव्य बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।
यसैगरी, मेलाको सुरक्षा व्यवस्था सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय कम्दीका प्रमुख साई मोहन केसीको पनि उपस्थिति रहेको बैठकमा स्थानीय समाजका अगुवा, वडासदस्यहरू र स्थानीयबासीले आ–आफ्नो जिम्मेवारीलाई स्पष्ट रूपमा परिभाषित गरेका छन्।
ऐतिहासिक र धार्मिक महत्व बोकेको हजरत बाबा कम्मर शाहको वार्षिक उर्स मेला समाजमा आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्ने प्रमुख मञ्चका रूपमा रहेको छ।