बाँके मंसिर १५ गते।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ कसाईमण्डीमा भौतिक पूर्वाधार विकासको लागि १० लाख रुपैयाँको योजना स्वीकृत भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयका माननीय मन्त्री आदेशकुमार अग्रवालको पहलमा सो योजना अघि बढाइएको हो।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगञ्ज बाँकेका इन्जिनियर राजकुमार गुप्ताका अनुसार बदरुद्दिन सलमानीको घरदेखि सरकारी स्कुलको पर्खालसम्म १०३ मिटर लामो बाटोको माटो पटान, ग्राबेल गर्ने र नालाको ढक्कन निर्माण गर्ने योजना तयार भएको छ। इन्जिनियर गुप्ताले जानकारी दिए अनुसार कार्यालयले केही दिनमै टेन्डर आह्वान गर्ने जानकारी पनि दिएका छन्।
मन्त्री अग्रवालका स्वकीय सचिव मोहम्मद राजा राईका अनुसार नेपालगञ्जका विभिन्न वडामा भौतिक पूर्वाधार विकासका योजना अघि सारिएको छ। साथै, डुडुवा गाउँपालिकाभित्र पनि विभिन्न योजनाहरू कार्यान्वयन चरणमा प्रवेश गरिसकेको बताइएको छ।
यसै क्रममा, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष सराफत शेषले आफ्नो वडामा भौतिक पूर्वाधारको विकासका लागि बजेट विनियोजन भएकोमा मन्त्री अग्रवालप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले भने, “वडावासीहरूको मागलाई सम्बोधन गर्दै मन्त्रीज्यूले बजेट विनियोजन गर्नुभएकोमा हामी उहाँप्रति आभारी छौं। यसले वडाको विकासमा महत्वपूर्ण टेवा पुग्नेछ।”
वडावासीहरूले पनि उक्त योजनाको स्वागत गरेका छन्। स्थानीय बदरुद्दिन सलमानीले सडक र नालाको सुधारले दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्। विशेष गरी वर्षायाममा आउने समस्या समाधान हुनेमा स्थानीयहरू विश्वस्त छन्।
यस परियोजनाले वडा नं. ५ को भौतिक पूर्वाधार सुधार गर्दै अन्य वडाहरूमा पनि सकारात्मक उदाहरण पेश गर्ने विश्वास गरिएको छ। मन्त्रालय र सम्बन्धित निकायको सक्रियताले अबको केही समयभित्र नै कार्यान्वयन सुरु हुने अपेक्षा गरिएको छ।यो योजना पूर्ण भएपछि स्थानीय बासिन्दाले सुरक्षित र सुविधा सम्पन्न आवागमनको अनुभूति गर्नेछन् भने वडाको समग्र विकासमा पनि योगदान पुर्याउनेछ।