काठमाडौँ मंसिर १२ गते ।
ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले नेपाल प्रहरीका एसपी कमल थापासहित चारजनामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको छ। ‘हनी ट्रयाप’मा पारेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लागेका थापासहित अन्य चारजनालाई सोमबार सरकारी वकिलले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा थप अनुसन्धानको लागि निर्देशन दिएको हो।
सीआईबीले तयार पारेको प्रतिवेदनको आधारमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनाविरूद्ध सोमबार मुद्दा दायर गरिएको छ। थापासहित पाँचजनामाथि थप अनुसन्धान आवश्यक रहेको सरकारी वकिलको राय छ।सरकारी वकिलको निर्देशनमा ताज इस्लाम, भगवती थापा, खुसी रसाइली र मनिषा कार्कीमाथि थप अनुसन्धान गर्न भनिएको छ। यसमध्ये घटनाका मुख्य योजनाकार ताज इस्लामको प्रेमिका मनिषा कार्कीलाई प्रमुख योजनाकारको रूपमा देखाइएको छ। अनुसन्धानअनुसार, मनिषाले भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन निरीक्षक बिनु शाहीसहित एक व्यवसायीलाई बलात्कारको झूटो मुद्दामा फसाएर २० लाख रुपैयाँ असुल्ने योजना बनाएकी थिइन्।
सो घटनामा संलग्न प्रहरी निरीक्षक बिनु शाही, दर्शन पोखरेल, सहायक हवल्दार महेन्द्र हमाल, सुष्मा विक, ताज इस्लाम र भीमादेवी थापाविरूद्ध मुद्दा दायर भइसकेको छ। यसमध्ये निरीक्षक शाही र पोखरेल भने फरार रहेका छन्।एसपी थापामाथि ताज इस्लामलाई भैंसेपाटीकी इन्स्पेक्टर बिनु शाहीसँग जोडेर हनी ट्रयापमा पार्न सहयोग गरेको आरोप छ। थापा कञ्चनपुरमा एसपीका रूपमा कार्यरत रहँदा शाहीसँग नजिकको सहकार्य रहेको र त्यसै क्रममा ताज इस्लामलाई शाहीसँग परिचय गराएको आरोप छ।
यस घटनासँग सम्बन्धित थप प्रमाणका रूपमा एसपी थापा र ताज इस्लामबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एक होटलमा भएको भेटघाटको विवरण पनि फेला परेको छ। थप अनुसन्धानका लागि सरकारी वकिलको निर्देशनपछि यो प्रकरण झन् पेचिलो बन्न पुगेको छ। अहिले प्रहरी प्रशासनभित्र पनि यस घटनाले हलचल ल्याएको छ।