पोखरा, मंसिर १२ गते ।
नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुँदै नेपालमा बसोबास गर्ने भूतपूर्व गोर्खा सैनिकलाई सम्बोधन गरे।
कार्यक्रममा वीरता पुरस्कार विजेता तथा वीर नारीहरुलाई सम्मान गर्दै जनरल द्विवेदीले उनीहरुप्रति कृतज्ञता व्यक्त गरे। उनले गोर्खा सैनिकहरुको साहस, अनुशासन र राष्ट्रप्रतिको समर्पणको खुलेर प्रशंसा गरे। जनरल द्विवेदीले भने, “गोर्खा सैनिकहरुको बहादुरीले भारतलाई मात्र होइन, सम्पूर्ण विश्वलाई प्रेरित गरेको छ। उनीहरुको बलिदान र सेवा कहिल्यै बिर्सन सकिँदैन।”
उक्त समारोहमा भारतीय सेना पत्नी कल्याण संघकी अध्यक्ष सुनीता द्विवेदीले पनि वीर नारीहरुसँग अन्तरक्रिया गरिन्। वीर नारीहरुको बलिदान र धैर्यताको उच्च मूल्यांकन गर्दै उनले परिवारका सदस्यहरुलाई हौसला प्रदान गरिन्।भ्रमणको क्रममा जनरल द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरमा पनि भ्रमण गरे। उनले पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल तथा उनका स्टाफ अफिसरहरूसँग भेटवार्ता गर्दै नेपाली सेना र भारतीय सेनाबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनका लागि छलफल गरेका थिए।
नेपाली सेना र भारतीय सेनाबीचको ऐतिहासिक र परम्परागत सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यसहित भइरहेको यस किसिमको उच्चस्तरीय भ्रमणले दुई देशबीचको सुरक्षा र सैनिक सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनरल द्विवेदीको यो भ्रमणले नेपाल-भारत सम्बन्धमा नयाँ उचाइ थप्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा दुई देशका सेनाबीचको भाइचारा, सहकार्य र आपसी सम्मानलाई निरन्तरता दिन आगामी दिनमा पनि यस्ता भ्रमण आवश्यक रहेको बताइएको छ।
भारतीय सेना प्रमुखको यस भ्रमणलाई पोखरावासीले स्वागत गरेका छन्। जनरल द्विवेदीले गोर्खा सैनिकहरुप्रतिको सम्मानले भूतपूर्व सैनिक र उनीहरुका परिवारमा गहिरो प्रभाव पारेको छ।जनरल उपेन्द्र द्विवेदीको भ्रमणले नेपाल-भारत सम्बन्धमा सैनिक सहयोगका नयाँ आयाम थप्न मद्दत पुग्ने विश्वास गरिएको छ।