काठमाडौं मंसिर १२ गते।
नेपाल प्रहरीको ११४औं ब्याचका एसपीहरू यसपटकको बढुवामा मुख्य प्रतिस्पर्धी बनेका छन्। ११४औं ब्याचका रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा र अजय केसी बढुवाका प्रमुख दाबेदारका रूपमा अगाडि देखिएका छन्।
तर, सोही ब्याचका एसपी कमल थापामाथि हनि ट्रयापिङ प्रकरणमा अनुसन्धान भइरहेका कारण उनको बढुवा अनिश्चित बनेको छ। थापाले चलखेलमार्फत आफूमाथिको मुद्दा रोकाएका थिए। विभागीय कारबाहीसमेत रोकाएर बढुवाका लागि उनी फेरि प्रयासरत छन्।
यसपटकका बढुवा प्रक्रियामा यसअघि पछि परेका एसपीहरू पनि सशक्त रूपमा अगाडि आएका छन्। होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल र दीपेन्द्र शाहीले पनि बढुवामा आफूलाई प्रमुख दाबेदार बनाएका छन्।
यसैबीच, कार्यसम्पादनमा कमजोर मानिएका एसपी तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला र ज्ञानेन्द्र फुयाल शक्तिकेन्द्र धाउँदै बढुवाको प्रयासमा लागेका छन्। नेपाल प्रहरीको बढुवा समिति चाँडै एसपी र डीएसपीको बढुवा टुंगो लगाउने तयारीमा जुटेको छ। डीएसपी पदमा २०७० सालको टोलीबाट ७९ जना प्रतिस्पर्धामा छन्। यस टोलीका दुई समूह पहिले नै डीएसपी बनिसकेका छन् भने यसपटक पनि नौ जना बाहिरिने देखिएको छ।
बढुवा प्रक्रियामा हाल चलिरहेको प्रतिस्पर्धा र चलखेलले प्रहरी संगठनभित्र थप चर्चा र चासो बढाएको छ। विभागीय छानबिन र कार्यसम्पादन मूल्यांकनलाई लत्याएर बढुवाको दौडमा लाग्ने प्रवृत्तिप्रति प्रहरी संगठनभित्र र बाहिर आलोचना बढ्दै गएको छ। बढुवा प्रक्रियामा योग्यताका आधारमा निर्णय हुनुपर्ने आवाज उठिरहेका बेला यसपटकको बढुवा कसलाई लाभदायक हुने भन्ने चासो सबैमा छ।