बाँके मंसिर १० गते।
नेपालगंज उप-महानगरपालिका वडा नं. १५ जमुनाहबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। वडा नं. १५ जमुनाहस्थित नेपालगंज उप-महानगरपालिकाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बाँके, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरिएको छ।
कार्यक्रम नेपालगंज उप-महानगरपालिकाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय बाँके, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सहकार्यमा भएको हो। अभियानको उद्घाटन नेपालगंज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक आयुष प्रसाद जोसी, सशस्त्र प्रहरी बलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका पदाधिकारी, पत्रकार, समाजसेवी, बुद्धिजीवीलगायत झन्डै दुई सय जनाको उपस्थिति थियो।
अभियानका क्रममा “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने नारासहित ब्यानर प्रदर्शन र सेतो रिबन वितरण गरिएको थियो। जमुनाहदेखि वडा नं. २० स्थित राँझाको शिव मन्दिरसम्म र्यालीसमेत निकाले। मेयर विष्टले लैङ्गिक हिंसा समाजको गम्भीर विकृति भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए। उनले महिलाहरूलाई सुरक्षित, सम्मानित र सशक्त बनाउन उप-महानगरपालिकाले विविध पहल गरिरहेको जानकारी गराए।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी रिजालले समाजमा लैङ्गिक समानता कायम गर्न र हिंसा अन्त्यका लागि सबै क्षेत्रको जिम्मेवार भूमिका आवश्यक रहेको बताए। प्रहरी नायव उपरीक्षक जोसीले महिला हिंसाविरुद्धको कानुनी प्रावधानबारे जानकारी दिँदै हिंसाका घटनाहरू उजागर गर्न आग्रह गरे। कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना, समावेशीता र राज्यका हरेक तहमा प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिए। आयोजकका अनुसार अभियानका गतिविधिहरूलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाइएको छ।