नेपालगञ्ज मंसिर ९ गते।
बाँके जिल्लाको नेपाल-भारत सीमामा रहेको जमुनहा नाकामा एक्कासि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले जमुनहा नाकाको पूर्व ३० नम्बर पिलरसम्म र पश्चिम इच्छारामबाबा, पचपोखरा, साईगाउँ, बढैया, सिपरी, ३६ नम्बर पिलरसम्म सशस्त्र प्रहरीले कडा निगरानी सुरु गरेको छ। मुख्य रूपमा गैरकानुनी सामान भित्रिन नदिन नाकामा आउने र जाने सवारी साधन तथा व्यक्तिमाथि चेकजाँच कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
जयसपुरस्थित आइसिपी नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल गुल्माका इन्चार्ज डिएसपी प्रदीप बुढाथोकीले नाकामा खटिएका सम्पूर्ण युनिटलाई चेकजाँचमा कडाई गर्न निर्देशन दिनुभएको छ। साथै, सशस्त्र प्रहरीलाई सीमा क्षेत्रको चेकपोइन्टमा निगरानी थप प्रभावकारी बनाउन र भारतबाट आउने पर्यटकसँग उचित व्यवहार गर्न पनि निर्देशन दिइएको छ।
जयसपुर बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ललित शाहीका अनुसार जमुनहाको पूर्व शर्मागली देखि ३० नम्बर पिल्लरसम्म कडा निगरानी गरिएको छ। तस्करी रोक्न सवारी साधन र सर्वसाधारणको गतिविधि सूक्ष्म रुपमा चेक जाँचमा कडाई गरिएको शाहीले बताउनुभयो ।
तस्करी नियन्त्रणको प्रयासमा सशस्त्र प्रहरीले स्थानीय नागरिकबाट आउने सूचनालाई पनि गम्भीरतापूर्वक लिँदै आएको छ। सीमा क्षेत्रमा हुने तस्करीको मुख्य कारण भनेको सर्वसाधारणले किनमेलका नाममा दैनिक रूपमा सीमा पार गर्नु रहेको देखिएको छ। यसलाई रोक्न, सीमापार गएर फर्किने व्यक्तिहरूको पहिचान गर्न र उनीहरूसँग सोधपुछ गर्ने प्रक्रिया कडा बनाइएको सशस्त्र प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो।
३० न.गण बागेश्वरी हेडक्वाटर बाँकेका गणपति बिमल डाँगीले नाकामा खटिएका सुरक्षाकर्मीलाई सतर्क रहन र तस्करीलाई पूर्ण रूपमा रोक्न कुनै पनि किसिमको सम्झौता नगर्न निर्देशन दिनुभएको छ। चेकजाँच प्रभावकारी बनाउन नाकामा सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ।
सुरक्षाका लागि गरिएको कडाईका कारण सीमापारी किनमेल गर्न जाने सर्वसाधारणले केही असुविधा महसुस गरे पनि तस्करी रोक्न यो कदम आवश्यक भएको स्थानीय प्रशासनले बताएको छ। जमुनहा नाका नेपालको पश्चिम क्षेत्रको एक प्रमुख सीमा नाका हो। यस नाकाबाट दैनिक हजारो मानिस र सवारी साधन नेपाल र भारतबीच आउजाउ गर्छन्।
सशस्त्र प्रहरी बलले यो नाकालाई थप व्यवस्थित र सुरक्षित बनाउन, विशेषगरी तस्करीलाई रोक्न, आफ्नो निगरानी र चेकजाँचलाई अझै प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जनाएको छ। तस्करीमुक्त सीमा क्षेत्र निर्माण गर्ने अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको सशस्त्र प्रहरीले प्रष्ट पारेको छ।