नेपालगंज, मंसिर ९ गते ।
राष्ट्रिय स्वराज पार्टीको भातृ संगठन नेपाल ई-रिक्सा संघर्ष समितिले नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरमा वडा समिति गठन गरेको छ। यो समिति गठनसँगै ई-रिक्सा व्यवसायीहरुको हकहित संरक्षण तथा समृद्धि अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
कार्यक्रमको नेतृत्व नेपाल ई-रिक्सा संघर्ष समितिका अध्यक्ष रियाज अहमद शेषले गरेका थिए। सहयोगी भूमिका निभाउने भीम बहादुर शाही, अम्बिका शाही, रज्जब अली जसगढ लगायत को उपस्थिति रहेको थियो। कार्यक्रमका दौरान स्थानीय ई-रिक्सा चालक र व्यवसायीहरुले आफ्नो समस्या तथा सुझाव राखेका थिए। यो संगठनले ई-रिक्सा व्यवसायीहरुसँग सम्बन्धित मुद्दाहरुलाई समाधान गर्न, सहुलियत प्रदान गर्न र नयाँ अवसर सिर्जना गर्न पहल गर्ने बताइएको छ।
नेतृत्वकर्ता रियाज अहमद शेषले भने, “हाम्रो उद्देश्य ई-रिक्सा चालकहरुको अधिकार सुरक्षित गर्नु, उनीहरुको जीवनस्तर सुधार गर्नु र उनीहरुको हकमा काम गर्ने हो। हामीले संगठित भएर अघि बढ्दा मात्र सफलताको ग्यारेन्टी गर्न सक्छौँ।”
संगठनले आगामी दिनमा जनचेतना अभियान, नीति निर्माणमा दबाब दिने कार्यक्रम र व्यवसायीहरुको समस्या समाधानमा प्राथमिकता दिने योजना रहेको जानकारी दिएको छ। वडा समितिको गठनसँगै ई-रिक्सा संघर्ष समितिले नेपालगंजका अन्य क्षेत्रमा पनि विस्तारको प्रक्रिया अघि बढाउने लक्ष्य राखेको छ।
नेपालगंज उपमहानगरपालिका वडा नंबर १६ का स्थानीयबासीले पनि यस कदमलाई स्वागत गर्दै ई-रिक्सा व्यवसायीहरुको हकहित र समृद्धिका लागि प्रभावकारी कदम हुने विश्वास व्यक्त गरेका छन्।