नेपालगन्ज, मंसिर ८ गते ।
डेंगोको प्रकोप नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइड छर्किने अभियान सुरु गरेको छ। आजबाट वडा नं १४ भवनीयापुरमा यो अभियानको सुरुवात गरिएको हो। डेंगोको जोखिम घटाउन उपमहानगरपालिकाले विभिन्न उपाय अवलम्बन गर्दै आएको छ।
यसै सन्दर्भमा, वडा नं १४ भवनीयापुरका वडा अध्यक्ष मजहर अली साईंले वर्षौँदेखि जमेको पानीका कारण लामखुट्टेको लार्भा बढिरहेको भन्दै तिनलाई नष्ट गर्न बायोपेस्टिसाइड छर्किन सुरु गरिएको जानकारी दिए। अभियान अन्तर्गत नगर प्रहरी परिचालन गरी लामखुट्टेनाशक जैविक विषादी छर्किएको छ।
वडाभित्रका सार्वजनिक स्थल, खाली जग्गा, घरको वरिपरि रहेको पानी जम्ने ठाउँ र ढल आसपासका क्षेत्रलाई प्राथमिकतामा राखेर विषादी छर्किने काम भइरहेको छ। अध्यक्ष साईंका अनुसार, यो अभियानका लागि उपमहानगरपालिकाले आवश्यक स्रोत साधन र जनशक्ति परिचालन गरेको छ। साथै, स्थानीयलाई डेंगोबारे जनचेतना फैलाउने कामसमेत भइरहेको उनले बताए।
उपमहानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न बायोपेस्टिसाइडको उपयोगलाई वातावरणमैत्री र प्रभावकारी उपायका रूपमा अघि सारेको छ। यो विधि प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणमा हानी नहुने विश्वास गरिएको छ। डेंगो नियन्त्रणका लागि नागरिकलाई पनि ध्यान दिन आग्रह गरिएको छ। पानी जम्न दिने प्रचलन हटाउन, घर वरिपरिका खुला ठाउँ सफा राख्न र नियमित रूपमा पानीका भाँडा खाली गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ।
विगत केही महिनादेखि नेपालगन्ज क्षेत्रमा डेंगोका बिरामीको संख्या बढिरहेको छ। स्वास्थ्यकर्मीका अनुसार, डेंगो लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो, जसले ज्वरो, मांसपेशी दुखाइ र कमजोरीजस्ता लक्षण देखाउँछ।यस अभियानले डेंगोको नियन्त्रणमा प्रभावकारी परिणाम दिने विश्वास लिइएको छ।