बाँके मंसिर ५ गते।
सशस्त्र प्रहरीले हालैका दिनमा भारतीय बजार रुपैडिहाबाट अवैध रूपमा नेपाल भित्र्याइएका तस्करीका सामानहरू धमाधम पक्राउ गरिरहेको छ। । सशस्त्र प्रहरी बल नेपाल ३० न. गण बागेश्वरी हेडक्वाटर बाँकेबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक धनराज बुढाथोकीको कमाण्डमा चौलिका पोस्टमा तैनाथ सशस्त्र प्रहरीले भारतीय बजार रुपैडियाबाट नेपालतर्फ तस्करी गरि ल्याइरहेका लेडिज सुटलगायत विभिन्न सामानहरू आज नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल ३० न. गण बाँकेका गणपति (एसपी) बिमल डाँगीको कडा निर्देशनमा चौलिका पोस्टमा चेक जाँचका क्रममा दुई महिलाको शरीरभित्र बेरेर ल्याइएका ऊनि लेडिज सूट साडीहरू चेक जाँच गर्ने क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। भारतीय बजार रुपैडिहामा घरायसी सामान किनमेल गर्न जान्छौं भन्ने नाममा व्यापारीहरूले लाखौं मूल्य बराबरका सामान भन्सार छल्दै नेपाल भित्र्याउने गरेको पाइएको छ।
भारतीय रुपैडिहा बजारमा सस्तोमा सामान किन्दै तिनलाई नेपालमा महँगो मूल्यमा बेच्न व्यापारीहरूले भरियाहरूको प्रयोग गरिरहेको देखिन्छ। व्यापारीहरूले स्वयं सीमा पार गर्ने भन्दा पनि नेपालगञ्ज, कोहलपुर, दाङ, खजुरा जस्ता सीमावर्ती क्षेत्रका महिला, बालबालिका र युवालाई प्रयोग गरी सामान तस्करी गराउने गरेका छन्। सामान नेपाल भित्र्याएबापत भरियाहरूले एकपटकमा २०० देखि ५०० रुपैयाँसम्म पाउने गरेको महिला भरियाले लिमरा खबरलाई बताइन्।
सशस्त्र प्रहरीले तस्करी नियन्त्रण गर्न प्रयासरत रहेको भए पनि, खुला सीमा नाकाको कारण चोरी पैठारी पूर्ण रूपमा नियन्त्रण गर्न कठिन रहेको उनीहरूको भनाइ छ। सीमामा तैनाथ सुरक्षाकर्मीहरूलाई घरायसी प्रयोजनको नाममा ल्याइएका सामानहरूको चेकजाँच गर्दा कैयौँ पटक विवादको सामना गर्नुपरेको छ।
तस्करी रोकथामका लागि सशस्त्र प्रहरी बल नेपाल बाँकेका एसपी बिमल डाँगीले आफ्नो मातहतका सबै युनिटलाई कडा निर्देशन दिएका छन्। उनले सीमामा तस्करीको गतिविधिलाई रोक्न सुरक्षा सतर्कता बढाउन भनेका छन्। यसका साथै, चौलिका पोस्टमा बरामद गरिएका सामानहरू नेपालगञ्ज भन्सार कार्यालय पठाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
व्यापारीहरूले तस्करी गरिएका सामानहरू दिनभर सीमावर्ती क्षेत्रमा रहेका पसल र गोदामहरूमा राख्ने र रातपरेपछि ट्याक्सी वा माइक्रोबस मार्फत भित्री नेपालगञ्जका बजारमा पुर्याउने गरेका छन्। स्थानीय स्तरमा कानुन कार्यान्वयन कडा गरिए पनि व्यापारीहरूले नयाँ तरिका अपनाउँदै तस्करीलाई निरन्तरता दिइरहेका छन्।
खुला सीमा र भारतीय बजार रुपैडिहाको कारणले तस्करी नियन्त्रण गर्न चुनौतिपूर्ण देखिएको छ। यसैबीच, सशस्त्र प्रहरीले बारम्बार सामान ओसारपसार गर्ने व्यक्तिहरूलाई पहिचान गरेर कारबाही गर्ने प्रयास जारी राखेको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा थप निगरानी राख्दै तस्करी नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक रहेको पनि बताएको छ।
यस प्रकार, भारतबाट आउने अवैध सामान नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले विभिन्न कदम चालेको भए पनि खुला सीमाको दुरुपयोग रोक्न थप प्रभावकारी रणनीति अपनाउनुपर्ने देखिन्छ।